हेटाैँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्ती खोलामा ४३ वर्षअघि निर्माण गरिएको पुलका क्षतिग्रस्त पिल्लर मर्मत कार्य सुरु गरिएको छ। डिभिजन सडक कार्यालय हेटौँडाले बुधबारदेखि पुलका चार पिल्लरमा रेट्रोफिटिङको काम प्रारम्भ गरेको हो। कार्यालयका इन्जिनियर निरज महर्जनका अनुसार बर्खायाममा बाढीको तीव्र बहावका कारण पिल्लरहरूको बाहिरी भागमा क्षति पुगेको छ।

धेरै वर्षदेखि लगातार पानी र नदीजन्य वस्तुको घर्षणका कारण पिल्लरहरूको बाहिरी भागको सिमेन्ट नष्ट भई फलामका रड सतहमा देखिन थालेपछि पिल्लर सुरक्षित गर्न तत्काल मर्मत आवश्यक भएको उनको भनाइ छ। पुल संरचना अध्ययनका लागि विशेषज्ञ शिव पौडेलको टोली बुधबार नै हेटौँडा आएको थियो।

टोलीले निरीक्षण गरी प्रतिवेदन दिएपछि रेट्रोफिटिङ कार्य थालिएको डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार रड देखिएका पिल्लरमा फर्मा ठोकेर सिमेन्टको ज्याकेटिङ गरिनेछ, जसले संरचना दीर्घकालीन रूपमा सुरक्षित बनाउनेछ।

२१० मिटर लामो पुलमा सात पिलर छन्, जसमध्ये चार पिल्लरको सतहमा रड खुला देखिएको छ। भारतीय कम्पनीले निर्माण गरेको पुलको हेटौँडातर्फको पहुँचमार्ग २०५९ सालमा बाढीले बगाएको थियो। निर्माणपछि पुलमा अहिलेसम्म ठुलो स्तरको मर्मत नभएको डिभिजन प्रमुख अधिकारीले बताए। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० र ११ को सीमास्थित यो पुलबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दै आएका छन्।