एजेन्सी । विश्व इजरायल र प्यालेस्टाइन, रुस र युक्रेन तथा हुथीसँगको युद्धमा व्यस्त भइरहेको अवस्थामा उत्तर कोरियाले निरन्तर आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले तीव्र रुपमा आणविक हतियार परीक्षण गरेसँगै किम जोङ उनको मनसायबारे बहस सुरु भएको छ ।

जनवरी ५ मा दक्षिण कोरियाको सीमा नजिकै उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमण गरेको थियो । गत शुक्रबार मात्रै उसले हिन्द प्रशान्त क्षेत्रमा रहेको अमेरिकी नौसेनाको पनडुब्बी त्यहाँबाट हटाउनका निम्ति जापानको इलाका नजिक पानीमुनि परमाणु हतियारको परीक्षण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई मित्र नभएर सत्रु राष्ट्र मान्ने बताएको छ । यस्तै आणविक युद्धमार्फत उसलाई आफ्नो अधिनमा ल्याउने महत्वाकांक्षी घोषणा गरिसकेको छ ।

उसको यो घोषणासँगै विश्वसामु नयाँ चुनौती थपिएको छ । शक्ति राष्ट्र अमेरिका हाल इजरायल र हमासबीच भइरहेको युद्ध, रूस र युक्रेन युद्ध र मध्यपूर्वी क्षेत्रमा अल्झिरहेको छ । यस्तो बेला अमेरिकाले किमको भावी कदमको विश्लेषणका लागि उच्चपदस्थ अधिकारीलाई खटाएको छ । किमले मौखिक चेतावनी मात्रै दिएका हुन् वा उनी त्यसभन्दा अगाडि बढिसके भन्ने कुरा अमेरिकी अधिकारीहरुले बाइडेन प्रशासनलाई भन्नुपर्नेछ ।