कतार । अमेरिकी संस्था ग्लोबल पिस चेनले लेखक तथा साहित्यकार प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई शान्ति दूतको उपाधि प्रदान गरेको छ ।ग्लोबल पिस चेनले ‘मैले देखेको कतार’का लेखक मियाँलाई शान्ति दूतको उपाधि प्रदान गरेको हो ।

मियाँ कतारबाट एक मात्र शान्ति दूतको छनोटमा परेका हुन् । ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले मियाँले कतारमा रहेर नेपाली समुदायमा हार्दिकता, मेलमिलाप एवं उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै शान्ति दूतको उपाधि प्रदान गरेको हो ।

अक्सा हमीदी र कामरान जफरद्वारा जारी विज्ञप्ति उल्लेख उक्त मूल्याकङ्नमा मियाँको सेवाबारे बताइएको छ । मियाँ बिगत डेढ दशकभन्दा बढी समयदेखि कतारस्थित राष्ट्रिय मानव अधिकार आयोगमा नेपाली समुदायको प्रतिनिधि एवं कानुनी परामर्शदाताको रुपमा कार्यरत छन् ।

कतारमा रहेका नेपाल श्रमिक तथा आम नेपालीहरूलाई आइपर्ने विभिन्न कानुनी जटिलता एवं समस्या समाधानमा मियाँको भूमिका उत्कृष्ट रहेको ठहर गर्दै कतार सरकारलगायत कतारमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा सम्मानित हुनेहरूमा समेत मियाँ अग्रपङ्क्तिमा पर्छन् ।

प्रोफेसर मियाँ लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाताका रुपमा क्रियाशील छन् । उनी राष्ट्रिय मानव अधिकार समिति कतारमा पनि आबद्ध छन् ।

काठमाडौंको डाँछीमा जन्मिएका मियाँले पाकिस्तानबाट उच्च शिक्षा हासिँल गरे । विगत १५ वर्षदेखि कतारलाई कर्मथलो बनाइरहेका मियाँका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जन किताब प्रकाशित छन् ।

कतारमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग र उद्धारको काममा उनले योगदान पुर्‍याउँदै आएका छन् । उनी छिटै कतार बसाइको अनुभव समेटेर लेखिएको पुस्तकको अङ्ग्रेजी र अरबी संस्करण सार्वजनिक गर्ने तयारीमा छन् ।