हेटौंडा । चितवनको भरतपुरमा पहिलो पटक सञ्चालित आरम्भ कलेजले प्रत्येक विद्यार्थीलाई छुट दिने भएको छ । स्नातक तह अध्ययन गर्ने होटल म्यानेजमेन्टका विद्यार्थीलाई सम्र्पूण कोर्षमा लाग्ने शुल्कमा एक लाख छुट दिने भएको हो ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रमुख सुरज शिवाकोटीले कलेजको स्थापना भएसँगै चितवन, मकवानपुर, नवलपुरका विद्यार्थीले उच्च शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने गरी कलेज सञ्चालनमा ल्याएको बताए । उनले ४ वर्षे अध्ययन पछि विद्यार्थीलाई युरोपियन देशहरुमा रोजगारका लागि सहज वातावरण सिर्जना गर्ने बताउँदै क्यापस प्रमुख शिवाकोटीले भनेः हाम्रो पढ्दै कमाउँदै योजना छ सोही अनुरुप दिउँसो काम गर्ने वातावरण बनाउने छौं ।

उनले लामो समय कलेज सञ्चालनको अनुभव गरेका व्यक्तीको टिमबाट सञ्चालन गरिएको कलेजमा पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १/१ लाख बराबरको छात्रवृत्ति समेत प्रदान गरिने शिवाकोटीले बताए । सात लाख ५० हजारको प्याकेज हो हामी विद्यार्थीलाई प्याकेजमा एक लाख छात्रवृति दिन्छौं, शिवाकोटीले भने । १३२ जनाको सिट रहेकाले सुरुमा भर्ना गर्ने १५ जनालाई पनि छुट्टै छुटको व्यवस्था रहेको बताएका छन् ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट र ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट अध्यापन हुने कलेजले जनाएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको कलेजमा बास्केटबल कोर्ट, फुटसल,पौडी पोखरी र सभाहल रहनुका साथै सबै कक्षाकोठामा एसी जडान गरिएको जनाइएको छ ।