काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार  दिउँसो  होटल यल्लो प्यागोडा जमलमा  आईपीओ बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर ७७ हजार ४ सय ५३ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://slbs.nesdonepal.org/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नजिता हेर्न सकिन्छ । यो एप डाउनलोड गरी सर्भिस अप्शनबाट आईपीओ रिजल्टमा आफ्नो डिम्याट नम्बर राखी कम्पनी सेलेक्शन गरेपछि रिजल्ट हेर्न सकिन्छ ।

उक्त कम्पनीको आईपीओमा २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन सदर भएको थियो । २ करोड ८७ लाख ३४ हजार १० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको हो । प्रति कित्ता रु. १०० अंकित दरका ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कूल निष्काशन मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका छुट्याइएको थियो ।

कम्पनीको केन्द्रीय कार्यालय पर्वतको कुश्मामा छ  । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख छ भने आईपीओ बिक्री पछि चुक्ता पूँजी २५ करोड ५० लाख पुग्ने छ  ।