हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४२ करोड दुई लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७औँ गाउँसभाबाट उक्त बजेट प्रस्तुत तथा पारित गरिएको हो।गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय प्रस्तुत गरेकी थिइन्।
गाउँसभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।गाउँपालिकाले ‘सुखी र समृद्ध इन्द्रसरोवर’ निर्माणलाई मुख्य लक्ष्य बनाउँदै पर्यटन, कृषि, पूर्वाधार विकास तथा सुशासनलाई आगामी वर्षको बजेटका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ ।
गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार नेपालकै सबैभन्दा ठुलो मानवनिर्मित जलाशयका रूपमा रहेको कुलेखानी (इन्द्रसरोवर) ताललाई केन्द्रमा राखेर पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउने रणनीति अवलम्बन गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । मार्खु क्षेत्रसहित गाउँपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनका कार्यक्रम समावेश गरिएको छ । गाउँपालिकाले होमस्टे प्रवर्द्धन, पर्यटकीय पदमार्ग निर्माण तथा काठमाडौं र हेटौँडाबाट पर्यटक आकर्षित गर्न विशेष पर्यटन प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको छ । जलाशय क्षेत्रलाई केन्द्रमा राखेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न पूर्वाधार तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुडासैनीले बताए ।
कृषि उत्पादन र बजार व्यवस्थापनमा ध्यान
कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउने लक्ष्यसहित गाउँपालिकाले बेमौसमी तरकारी, फलफूल तथा मत्स्यपालनलाई विशेष प्राथमिकतामा राखेको छ । तरकारी खेती र माछापालनको उच्च सम्भावनालाई उपयोग गर्न विभिन्न स्थानलाई ‘कृषि पकेट क्षेत्र’ घोषणा गरी उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ ।
उत्पादित कृषि उपजको भण्डारण र बजारीकरणलाई व्यवस्थित बनाउन प्रदेश सरकारसँगको साझेदारीमा शीतभण्डार तथा कृषि संकलन केन्द्र स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । यसले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सडक स्तरोन्नति र पूर्वाधार विस्तार
काठमाडौंसँग जोडिने छोटो दूरीका सडकहरूको स्तरोन्नतिलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको छ । विशेषगरी कुलेखानी–फाखेल–फर्पिङ तथा सिस्नेरी–छैमले सडकखण्डलाई वर्षभर सञ्चालनयोग्य बनाउने लक्ष्य लिइएको छ ।
यसका लागि पहिरो नियन्त्रण, सडक मर्मत तथा आवश्यक संरचना निर्माणमा प्रदेश र संघीय सरकारसँग सहकार्य गरिने जनाइएको छ। साथै प्रत्येक वडा तथा बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने कृषि सडकहरूको स्तरोन्नति गर्ने योजना पनि अघि सारिएको छ।
सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै गाउँपालिकाले डिजिटल प्रशासनको अवधारणा कार्यान्वयन गर्ने नीति लिएको छ । सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गरिने भएको छ । साथै स्थानीय नागरिकले अनलाइन प्रणालीमार्फत कर तिर्न सक्ने व्यवस्था लागू गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
सुरक्षालाई प्रविधिमैत्री बनाउन पर्यटकीय तथा प्रशासनिक महत्त्वका क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । सामुदायिक विद्यालयमा डिजिटल सिकाइ प्रविधि विस्तार तथा प्राविधिक शिक्षामा लगानी बढाउने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा प्राथमिकता
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि प्रयोगशाला सेवा विस्तार, विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अघि सारिएको छ । यसैगरी दलित, जनजाति, महिला तथा युवाको आर्थिक सशक्तीकरणका लागि विभिन्न सिपमूलक तालिम तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै जलाशय क्षेत्रमा गेग्रान जम्मा हुन नदिन वृक्षरोपण, बायो–इन्जिनियरिङ तथा भू–क्षय नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्रस्तुत गरेको बजेटले पर्यटन प्रवर्द्धन, कृषि व्यवसायीकरण, पूर्वाधार विकास तथा डिजिटल सेवा विस्तारमार्फत स्थानीय आर्थिक गतिविधि बढाउने र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्