हेटौंडा । साताको सुरुवातसँगै बढ्न थालेकाे धितोपत्र बजारले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार पनि शेयरबजार मापक परिसूचक नेप्से ५६.०६ अंकको छलाङ मार्दै २३६९.०६ अंकमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक पनि ९.५२ अंकले बढेर ४५६.६६ अंकमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा जेठमा ब्याजदर थप बढ्ने अभिव्यक्ति दिएसँगै प्यानिक बनेका लगानीकर्ता ब्याजदर नबढ्ने समाचारसँगै उत्साहित बनेका । जसले गर्दा बुधबार २ अर्ब १६ करोड रुपैयाँको कारोबार हुन पुग्यो । पछिल्ला केही हप्तादेखि यस्तो कारोबार डेढ अर्बमै सीमित हुँदै आएको थियो ।
१३ वटै उपसमूह बुधबार हरियो बन्दा कारोबारमा आएका १ सय ९२ कम्पनीका लगानीकर्ता मनग्ये कमाउन सफल भएका छन् । जसमा ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट नै लागेकाे छ । सर्किट लाग्नेमा नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी जलविद्युत, युनिभर्सल पावर र जाल्पा लघुवित्त रहेका छन् ।
कुल कारोबारमा आएका कम्पनीमध्ये १ सय ९२ कम्पनीको शेयरमूल्य बढ्दा जम्मा दुई कम्पनीको भने शेयरमूल्य घट्याे । जसमा नेष्डो लघुवित्त र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । यी दुई कम्पनीको १ प्रतिशतका दरले शेयरमूल्य घटेको छ ।
यस्तै आजको कारोबारमा सर्वाधिक शेयर खरिदविक्री हुने कम्पनीहरूको अग्रस्थानमा अरुण हाइड्रोपावर रह्याे । यो कम्पनीको १० करोड रुपैयाँको शेयर खरिदविक्री हुँदा ङादी ग्रूप पावरको ८ करोड रुपैयाँको शेयर खरिदविक्री भएको छ ।
















प्रतिक्रिया दिनुहोस्