मेरी आमा भन्छिन्
म उनको देब्रे हात हुँ
उनलाई लाग्छ
उनले गर्ने धेरै कामहरुमा
मैले उनलाई थोरै मद्दत गरिदिदा
उनका अप्ठ्यारा कामहरु पनि
सहज हुने गर्छन् ।

मेरी आमा भन्छिन्
म उनको आँखाको नानी हुँ
उनलाई लाग्छ
मैले उनको जीवन उज्यालिदिने गर्छु
उनको जीवन
अन्धकारमय हुनबाट जोगाइदिने गर्छु ।

मेरी आमा भन्छिन्
म उनको मुटुको टुक्रा हुँ
उनलाई लाग्छ
मेरो उपस्थिति मात्रले उनको
प्राणमा प्राण भर्ने गर्छ ।

मेरी आमा भन्छिन्
म उनको खुसीको एक मात्र कारण हुँ
उनलाई लाग्छ
संसारभरको सुख मैले उनको
चरणमा ल्याएर राखिदिने गर्छु
संसारभरको खुसी मैले उनको
थैलीमा राखिदिने गर्छु ।

मेरी आमा भन्छिन्
म उनको जीवनको सार हुँ
उनको मुहारमा छाउने मुस्कानको
एकमात्र आधार हुँ
मलाई यस संसारमा लेराउने
मेरी आमा भन्छिन्
म उनको संसार हुँ ।

जीवन त मेरी आमाले
मलाई दिएकी हुन्
तर लाग्छ
उनको जीवनलाई जीवन्त
मैले बनाएको छु !

उषाकिरण अधिकारी
थप जानकारी