आफ्नै मनलाई सम्झाई बुझाई परदेशिएको हो
घरको  अवस्था कै कारण दाइ परदेशिएको हो।


खरको छानो टाल्दा टाल्दै टाल्ने ठाउँ हराएपछि
टिनको छानो छाउने कसम खाइ परदेशिएको हो।


आफन्तहरू भएर पनि आफ्नोपन नपाएपछि
आफ्ना धेरै इच्छाहरू मनमै दबाइ परदेशिएको हो।


रमाउने समयमा पनि कमाउनु परेपछि नै दाइले
पढ्न छाडेर जिम्मेवारी समाइ परदेशिएको हो।


भविष्यको पारिवारिक जीवन सम्झिएर नै उसले
प्रेमिकालाई पनि रुवाई रुवाई  परदेशिएको हो।