हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्वन गर्नका लागि बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा शुक्रवारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । पुस २१ गते शनिवार सम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटोहरु राखिएको छ ।

फोटो प्रर्दशनीको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालि नगर प्रमुख मीना कुमारी लामाले समग्र मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने बिषयमा जनप्रतिनिधिहरुबीच छलफल भइरहेको बताइन् । भारतीयलाई मकवानपुरमा आकर्षित गर्न सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरिन् । विभिन्न देश तथा स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउने काम पनि भइरहेको बताउँदै नगर प्रमुख लामाले पर्यटन प्रवर्र्धनमा सहयोग पुग्ने विशवास लिइन् ।

गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरु प्रर्दशनीमा राखिएका छ । थाहा नगरको पर्यटकीय क्षेत्र,प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सँस्कृति र जीवनशैली समेटिएका फोटो प्रर्दशनीमा राखिएको छ ।

काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर संभावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गरिएको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवं वाह्य पर्यटकको रोजाईमा परिरहेको सन्र्दभमा आयोजना गरिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाई छ ।

थाहा नगरपालिकाको आयोजना एवं हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फोटो पत्रकार संघ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी भईरहेको छ ।