हेटौँडा । मकवानपुरको हेटौँडास्थित वृन्दावन वनस्पति उद्यानमा लोपोन्मुख प्रजातिको भुइँमा उम्रने सुनाखरी फेला परेको छ । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरअन्तर्गत रहेको उद्यानमा पहिचान भएको उक्त सुनाखरीको संरक्षण सुरु गरिएको छ । सीमित बासस्थानमा पाइने यस प्रजातिलाई औषधीय प्रयोजनमा समेत प्रयोग गरिने भएकाले संरक्षणमा विशेष ध्यान दिइएको वनस्पति सहायक सागिर हुसेनले जानकारी दिए ।

उनका अनुसार उद्यान परिसरमा नियमित रूपमा वनस्पतिको अवलोकन गर्ने क्रममा फूल फुलेको र पातको बनावटका आधारमा भुइँमा उम्रने सुनाखरी पहिचान गरिएको हो । सुनाखरी मुख्यतः रुखमा उम्रने र भुइँमा उम्रने गरी दुई प्रकारका हुन्छन् । भुइँमा उम्रने यो प्रजाति नेपालमा सीमित स्थानमा मात्र फेला परेको छ । यसको प्रयोग आँखामा हाल्ने औषधि (आइड्रप) तथा क्यान्सरको औषधि बनाउनसमेत हुने गरेको हुसेनले बताए ।

नेपालमा यो प्रजाति सन् २०२० मा वरिष्ठ वनस्पतिविद् हेमराज पौडेलले बागलुङको कालीगण्डकी उपत्यकामा पहिलो पटक पहिचान गर्नुभएको थियो । त्यसपछि बारा र पूर्वी नेपालको झापामा पनि यो प्रजाति भेटिएको थियो । मकवानपुरमा वरिष्ठ वैज्ञानिक अधिकृत हेमराज पौडेल, वैज्ञानिक अधिकृत चन्द्रकला ठाकुर, वनस्पति सहायक युगल अर्याल र सहयोगी मिलन स्याङ्तान सम्मिलित अनुसन्धान टोलीले बाराको सिमरा पार्कनजिक यसको बासस्थान फेला पारेको थियो । पछिल्लो पटक हेटौँडाको वृन्दावन वनस्पति उद्यानमा समेत यो प्रजाति भेटिएको हुसेनले जानकारी दिए ।

यो सुनाखरी उष्ण तथा उपोष्ण क्षेत्रका वनमा समुद्री सतहबाट करिब एक सयदेखि एक हजार दुई सय मिटरको उचाइसम्म पाइन्छ । वनको छहारीमा पातपतिङ्गर कुहिएर बनेको मलिलो माटोमा उम्रने यो वनस्पति ३० देखि एक सय सेन्टिमिटरसम्म अग्लो हुन्छ । यसका पात साँघुरो अण्डाकारदेखि लेन्साकार हुन्छन् भने फूल सेतो रङका हुन्छन् । फूल जेठदेखि साउनसम्म फुल्ने र फल असोजदेखि मङ्सिरसम्म परिपक्व हुने जनाइएको छ ।

नेपालबाहेक चीन, हङकङ, कम्बोडिया, भियतनाम, भारत, म्यान्मार, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामा पनि यो प्रजाति पाइन्छ । सुनाखरी परिवारका विभिन्न प्रजाति दुर्लभ तथा लोपोन्मुख सूचीमा समावेश छन् । यस परिवारका प्रजातिलाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) अन्तर्गत पनि समेटिएको छ ।

हुसेनले सीमित क्षेत्रमा मात्र पाइने र औषधीय महत्वसमेत रहेको यस प्रजातिको संरक्षण आवश्यक रहेको बताए । वृन्दावन वनस्पति उद्यानमा यसको पहिचान भएपछि प्राकृतिक बासस्थान जोगाउने र प्रजातिको संरक्षणलाई निरन्तरता दिने काम भइरहेको उनले जानकारी दिए ।