हेटौंडा । पशुमा लाग्ने संक्रामक रोग बारे हेटौंडामा छलफल गरिएको छ । पशु सेवा कार्यालय हेटौंडाको आयोजनामा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पशुमा लाग्ने संक्रामक रोगबारे छलफल गरिएको हो ।

पशु सेवा कार्यालय हेटौंडा मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा पशुमा लाग्ने खोरेत, पिपिआर, अफ्रिकन स्वाइनफिवर, रेविज लगायतको रोगहरुबारे छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले जाडो भन्दा गर्मीमा धेरै रोग लाग्ने भएकाले अघिल्लो बर्षको कमिकमजोरी सुधार गर्दै अगाडि बढ्न सुझाव दिए । पशु सेवा कार्यालय हेटौंडा मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले पूर्वी मकवानपुरको राई गाउँ बागमती हुँदै, मधेश प्रदेश र पश्चिम मकवानपुरको मनहरीमा आउने कुकुर, बधेल, चमेरो लगायतबाट पनि समुदायका पशुमा पनि विविध रोग सर्ने गरेको बताए ।

कार्यक्रमका सहभागिले कतिपय अवस्थामा घरपालुवा कुकुरमा रेविज भएपछि समुदाय वा बजार क्षेत्रमा लगेर पशु छाडिदा पनि समस्या बढेको बताए । कार्यक्रममा पशु सेवा कार्यालय हेटौंडा मकवानपुरका डा.विजय पौडेलले पशुमा लाग्ने विभिन्न संक्रामक रोगहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको बस्तुस्थितीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मकवानपुर उद्योग वाणिज्य संघका राजु अधिकारी, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ जिल्ला अध्यक्ष हरिशरण अर्याल, मनहरी गाउँपालिकाका कृष्ण प्रसाद भट्टराई, बागमती गाउँपालिकाका डा.बिमोचन पौडेल, पशु कार्यालय हेटौंडा मकवानपुरका देवराज पराजुली लगायतकाको सहभागिता रहेको थियो ।