हेटौंडा । दोस्रो संस्करणको हेटौंडा साइकल रन २०८० को उपाधि हेटौंडा–६ का आशिष थापा मगरले जितेका छन् । हेटौंडामा शनिबार भएको प्रतियोगितामा सहभागी ३९ जनामध्ये आशिषले निर्धारित २२ किलोमिटरको दूरी पार गर्दै प्रथम भएका हुन ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको समन्वयमा भएको प्रतियोगितामा हेटौंडा–६ कै हरेराम राई द्वितीय, हेटौंडा–२ का विबै सिं मोक्तान तृतीय भएका छन् ।

प्रतियोगितामा प्रोत्साहन हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी भएका ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी ७ जना महिला साइक्लिस्टलाई प्रोत्साहनस्वरुप जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।