हेटौंडा । छैठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १ गतेदेखि फापरबारीस्थित जनता माविको खेलमैदानमा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
प्रतियोगितामा सातवटा ‘ए’ डिभिजन क्लब र तीनवटा मोफसलका क्लबको सहभागिता रहने आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरू जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा, चर्च ब्वाइज युनाइटेड, विभागीय टोलीहरू त्रिभुवन आर्मी र सशस्त्रको एपिएफ क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा क्लब, सर्लाही र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाखसहित ट्रफी र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र हरेक खेलको म्यान अफ दी म्याचलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसअघि गत वर्ष भएको पाँचौँ संस्करणमा विजेता टोलीले आठ लाख नगद पुरस्कार प्राप्त गरेको थियो । यस वर्ष पुरस्कार राशि वृद्धि गर्दौ १० लाख पु¥याएको अध्यक्ष श्रेष्ठले बताए । गत संस्करणमा ‘ए’ डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्