हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा चैत्र २ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
काठमाडौं शिक्षण अस्पताल र लायन्स तथा लियो क्लब भक्तपुर सिद्धकालीको प्राविधिक सहयोगमा एक दिने वृहत स्वास्थ्य शिविर हुन लागेको हो । शिविर हेटौंडा ७ मा रहेको नागश्वती शहरी स्वास्थ्य केन्द्र प्राङ्गणमा सञ्चालन हुनेछ ।
शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, दन्तरोग, नाक कान घाँटी , हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवाका साथै ल्याब, इसिजि र भिडियो एक्सरे सेवा समेत उपलब्ध हुने सहकारीका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिए । शिविरमा बिरामी जाँचका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिने छ ।
शिविर बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा विविध कार्य गर्दै आएको छ ।
हेटौंडा ७ नागस्वतीमा मुख्य कार्यालय रहेको सहकारीले ३ वटा सेवा केन्द्र मार्फत् थप सेवा उपलब्ध गराउँदै आएको छ । ६ हजार ६ सय ९३ सेयर सदस्य आबद्ध रहेको यस संस्थाको माघ महिना सम्मको कारोबार ६६ करोड ३८ लाख रहेको छ ।












प्रतिक्रिया दिनुहोस्