हेटौंडा । काष्ठ हस्तकलाको माध्यमबाट विभिन्न सामग्री बनाएर हेटौंडाका महिलाहरु अहिले स्वरोजगार बन्न थालेका छन । हेटौंडा–५ मा रहेको पिप्ले पोखरा सामुदायिक वनमा आवद्ध भएका महिलाहरुले काष्ठ हस्तकलाबाट मनग्य आम्दानी गरेका हुन ।

हेटौंडा–५ की ४१ बर्षीय बिष्णु कुमारी राई घर खर्च चलाउन सधैं श्रीमानको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँछिन । काष्ठ हस्तकलाको माध्यमबाट मासिक १५ हजारदेखि २५ हजार सम्म कमाउन थालेपछि घर खर्च र बचतका लागि अरुको भर पर्नुपर्ने बाध्यता हटेको उनको भनाई छ । हामी आफैं कमाउँछौं, लाउन खान मन लागेको कुरालाई खर्चदेखि सहकारी, टोल विकास संस्थामा बचत राख्न सक्ने भएका छौं, उनले भनिन् ।

तालिम लिएर काम गर्न थालेपछि दैनिकी नै परिर्वतन भएको हेटौंडा ५ की ३३ बर्षीय राधिका श्रेष्ठको अनुभव छ । साना बाबुनानीको लागि खाजा खर्चको जोहो गर्न र पकेट खर्च समेत यही काष्ठ हस्तकलाको माध्यमबाट संभव भएको उनको भनाई छ ।

घरको सबै काम भ्याएर बाँकी बसेको समय तालिममा सिकेको सीपलाई उपयोग गर्दै काष्ठ हस्तकलाको माध्यमबाट विभिन्न सामाग्री बनाएर बिक्री वितरण गर्दा राम्रो आम्दानी गर्न सफल भएको हेटौंडा–५ की ४० बर्षीय सम्झना कोइरालाको अनुभव छ ।

काष्ठ हस्तकला मार्फत उनीहरुले दराज, मन्दिर र ऐनाको काठको फ्रेम, घण्टी फ्रेम, मायाको चिनो, नेपालको नक्सा, किरिङ लगायतकाको सामाग्रीहरु उत्पादन गरिरहेका छन । यहाँ दुई सय रुपियाँदेखि ४० हजार रुपियाँ सम्मको काठका सामाग्री उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन गरिएका सामाग्रीहरु हेटौंडा, काठमाडौं एवं छिमेकी मुलुक भारत समेत निर्यात हुने गरेको उनीहरुको भनाई छ ।

अस्मिता नेपालले २०७२ सालको भदौंमा संचालन गरेको काष्ठ हस्तकलाको तालिम लिएपछि यहाँका महिलाहरुको दैनिकिमा अहिले परिर्वतन आएको हो । उनीहरुले पहिलो चरणमा अस्मिता नेपालले संचालन गरेको ६ महिने तालिम लिएका थिए । ततःपश्चात पुनः ३ महिने एड्भान्स तालिम लिएर हेटौंडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वनको भवनमै उनीहरुले हस्तकलाको काम सुरु गरेका थिए । २०७४ सालमा श्रमजिवी महिला काष्ठ उद्योग दर्ता गरेर यहाँका महिलाहरुले काष्ठ हस्तकलाको उत्पादन गर्दै आएका हुन । उनीहरुलाई तालिमदेखि काष्ठ हस्तकलाका लागि आवश्यक पर्ने सामाग्रीहरु काठ, बुट्टा खोप्ने, जिक्सा, ड्रिल मेसिन सहितका सम्पूर्ण उपकरणका लागि अस्मिता नेपालले सहयोग गरेको थियो ।

सुरुवाती समयमा उत्पादन भएका सामाग्रीहरुको बजारीकरण गर्न समस्या भएपछि यहाँका महिलाहरुका लागि अस्मिताले बजार व्यवस्थापन सम्बन्धी तालिम पनि प्रधान गरेको थियो । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले तालिम दिने मात्रै नभई महिलाहरुलाई उद्योगी बनाएर मात्रै छाड्ने गरेको बताइन । उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्न संस्थाले काम गर्दै आएको बताइन् ।