हेटौंडा । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

पत्रकार सम्मेलन मार्फत आयोजकले हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । हेटौंडा–११ स्थित स्मारक होटलमा हुने प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्ने कार्यक्रमतय भएको छ ।

बिहीबार बिहानसम्ममा ८१ जना खेलाडीले प्रतियागितामा सहभागी हुन नाम दर्ता गराइसकेको नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव एवम् प्रतियोगिता निर्देशक धरम लामाले जानकारी दिए । प्रतियोगितामा करिब ९० जना खेलाडीले सहभागिता जनाउने छन । मकवानपुरका २० र मकवानपुर बाहिरका ७० जना खेलाडी सहभागि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा २१ विधामा पुरस्कार वितरण गरिने छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै चौथो र पाँचौलाई २०–२० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । अन्य विधागत उत्कृष्टलाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने छ ।

प्रतियोगितामा २० लाख २ हजार खर्च हुने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले बताए । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।