हेटौंडा । हेटौंडा–१८ स्थित सुकौरामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाहको विषयमा स्थानीयको प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा–१८ लालभित्तेमा रहेको कालीदेवी प्राथमिक विद्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा करिब १ दर्जनभन्दा बढी स्थानीयले सार्वजनिक चासोका विषयमा प्रश्न उठाएका थिए ।
स्थानीयले बस्ती बचाउनको लागि तटबन्धनको आवश्यकता ओैंल्याएका थिए । खानेपानी, सिञ्चाई, सडक पूर्वाधार विकासमा पनि स्थानीय सहभागीले चासो दिएका थिए । आयआर्जनका लागि पशु र कृषि उत्पादनलाई प्रवर्धन गर्ने किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा स्थानीयबासीको जोड थियो ।
कार्यक्रममा स्थानीयको चासो, गुनासो र प्रश्नको सम्बोधन गर्दै उपमहानगर प्रमुख लामाले तटबन्धन र सिञ्चाईका लागि उपमहानगरले आगामी आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । यसअघि उपमहानगरले त्यस क्षेत्रमा पशुपालन प्रवर्धन गर्न राँगो वितरण गरेको स्मरण गर्दै उनले आयआर्जनका लागि उपमहानगरले आगामी आर्थिक वर्षमा प्रत्यक घरलाई बाख्रा अनुदान दिने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायत विभिन्न शाखाका प्रमुख, प्राविधिकलगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्