हेटौंडा । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदातासमेत हुन् । मातृभूमि र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको यो २१ औं पुरस्कार हो । अघिल्लो वर्ष यो पुरस्कार साहित्यकार श्रवण मुकारुङले प्राप्त गरेका थिए । वित्तीय क्षेत्रमा काम गरिरहेको संस्थाले साहित्यको श्रीवृद्धिका लागि साहित्य पुरस्कारमा सहकार्य गरेको भन्दै मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलले कृतज्ञता प्रकट गरे ।

यस्तै मातृभूमि साहित्य समाज मकवानपुरले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।

आगामी साउन ६ गते शनिबार हेटौंडाको पल्पसा प्याराडाइजमा एक कार्यक्रमकाबीच दुवै पुरस्कार हस्तान्तरण गरिने समाजका अध्यक्ष माधव पोखरेलले बताए । यसैबीच मातृभूमि साहित्य समाजले यसवर्षको आधा दर्जन वर्षाकालीन पुरस्कारसमेत घोषणा गरेको छ । मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार प्रदान गरिने भएको छ भने ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाललाई पुरस्कृत गरिँदैछ । सो पुरस्कारको राशी पनि १५ हजार रुपैयाँ नै रहेको छ ।

यस्तै १५ हजार राशीकै होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिँदैछ । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गर्न लागिएको समाजका अध्यक्ष पोखरेलले बताए । यस्तै झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको छ । पुरस्कारको राशी सात हजार पाँच सय रहेको छ । आगामी साउन ५ गते हेटौंडाको पल्पसा प्याराडाइजमा एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।

पत्रकार सम्मेलनमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रीव आचार्य, महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धिताल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हेमन्त ढुंगेल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।