हेटौंडा । पछिल्लो समय हेटौंडामा निर्माण भएका स्वास्थ्य संस्थाको संरचनाले गर्दा स्थानीय सेवाग्राहीले स्वास्थ्य संस्थाप्रति आशा राख्न थालेका छन् । संरचनासँगै थपिएका स्वास्थ्य सेवा सुविधाले पनि स्वास्थ्य संस्थाप्रतिको विश्वास बढाएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडा अस्पताल गाभिएसँगै ठूलो संरचना निर्माण भएर संचालनमा आउनुले पनि स्थानीयको अस्पतालप्रतिको आशा बढेको पाउन सकिन्छ ।

हेटौंडा उपमहानगरपालिका भित्र हेटौंडा अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल, ६ वटा स्वास्थ्य चौकी, १५ वटा स्वास्थ्य केन्द्र, २ वटा आयुर्वेद औषधालय संचालनमा रहेका छन् । यस्तै, थपिएका नीजि स्वास्थ्य संस्थाले गर्दा सेवाग्राहीले छिटो स्वास्थ्य सेवा पाएका छन् । हेटौंडा उपमहानगरपालिकामा दर्ता भएका ४ वटा र प्रदेशमा दर्ता भएका ७ वटा गरी हेटौंडा उपमहानगरपालिका भित्र ११ वटा नीजि अस्पतालहरु संचालनमा रहेका छन् । तर, संरचनासँगै थपिनु पर्ने अन्य सेवा सुविधामा भने अझै अस्पताल प्रशासन पछाडि नै रहेको छ । अस्पतालबाट प्रदान गरिने सेवा सुविधाको व्यवस्थापन, भएका संरचना र जनशक्तिको सदुपयोग, स्थानीयलाई प्रदान गरिने गुणस्तरीय र सर्वसुलभ सेवामा भने स्वास्थ्य संस्थामा अझैं चुनौति कायम छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिका भित्र रहेका २३ वटैं स्वास्थ्य संस्थाहरुले प्रायः सबै वडा समेटेका छन् । यस्ता स्वास्थ्य संस्थाबाट नेपाल सरकारले प्रदान गरेको ९० भन्दाबढी प्रकारका औषधिहरु निशुल्क वितरण भईरहेको छ । हेटौंडा उपमहानगरपालिकाको मातहतमा रहेका स्वास्थ्य संस्थाहरुमार्फत् नगरभित्रका बालबालिकालाई खोप कार्यक्रम, भिटामिन खुवाउने, प्रेसर परिक्षण, गर्भवति जाँचलगायतका कार्यक्रमहरु संचालन भईरहेको जनस्वास्थ्य अधिकृत भोला चौलागाईले बताए । यसवर्ष हेटौंडा उपमहानगरपालिकाले १६ वटा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको उनले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाले महिला स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर चालु आवमा १३ वटा महिलालक्षित शिविर संचालन गरेको उनले बताए ।

यस्तै, होम डेलिभरीलाई निरुत्साहित गर्न नियमित परिक्षण र अस्पतालमा सुत्केरी गराएबापत रकम भुक्तानी गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत् हेटौंडा उपमहानगरपालिका भित्रका वडा नम्बर ६ र ९ लाई शुन्य होम डेलिभरी घोषणा गरिएको छ भने वडा नम्बर ७ पनि घोषणाको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाले २०७९÷८० मा स्वास्थ्य क्षेत्रमा कूल १० करोड २७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा आन्तरिक स्रोततर्फ ४ कोड ५० लाख ७० हजार रुपैयाँ, नेपाल सरकारबाट ५ करोड १८ लाख रुपैयाँ र प्रदेश सरकारबाट ५९ लाख १० हजार रुपैयाँ प्राप्त भएको थियो । हेटौंडा उपमहानगरपालिकाको मातहतमा रहेका २३ वटै स्वास्थ्य संस्थामा स्रोत साधन र दक्ष जनशक्तिको भने अभाव रहेको छ । जसकारण सामान्य बाहेकका उपचारको लागि अन्य स्वास्थ्य संस्था धाउनु पर्ने बाध्यता कायमै छ ।

हेटौंडा अस्पतालमा अपेक्षा धेरै, सुविधा न्यून
स्वास्थ्य सेवाको उपयोग नगर्ने को होला र ? जन्मेदेखि मृत्युसम्म हामीले कुनै न कुनै बेला स्वास्थ्य सेवा लिएका हुन्छांै । यस क्रममा सबैले गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा राख्नु स्वाभाविक हो । तर, स्थानीयको अपेक्षा धेरै भएपनि सेवा भने न्यून मात्र पाएको गुनासो आउने गरेको छ ।

घण्टौं लामो लाइन बसेर उपचारका लागि पर्खिरहेका स्थानीय सेवाग्राही सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति सन्तुष्टी नहुनु स्वभाविक हो । हेटौंडा अस्पतालमा उपचारका लागि आएकी हेटौंडा ४ निवासी रेणुका दाहालले उपचार नपाएर एक महिनादेखि भरतपुर धाउनु परेको गुनासो सुनाइन् । उनका अनुसार हेटौंडा अस्पतालमा संरचना मात्रै ठूलो छ, एउटा एमआरआईको समेत व्यवस्था छैन । अस्पतालमा उपचारको लागि पुगेकी हेटौंडा ९ निवासी निर्मला पौडेलले स्वास्थ्य बिमा भएर अस्पतालमा उपचार गर्न आएको तर, दिन बितेको गुनासो गरिन् । उपचार गर्न आउँदा बिरामी कुरुवा समेत बिरामी हुने अवस्था रहेको उनले बताइन् । त्यसैगरी, हेटौंडा ५ निवासी रुद्र पराजुलीले संरचना मात्रै निर्माण भएको तर, सेवा सुविधा नभएको गुनासो गरे । स्वास्थ्य संस्थामा बिमा कार्यक्रम प्रभावकारी कान्र्यान्वयन नहुँदा समस्या भईरहेको स्थानीय बताउँछन् । स्वास्थ्य बिमाका बिरामीले सुविधा सहज हुनुपर्नेमा थप झण्झटिलो बन्नु बिडम्बना हो । टिकट काटेर उपचार गर्ने बिरामीको तुलनामा बिमामा आधारित सेवा लिन धेरै समस्या झेल्नु परेको हेटौंडा ३ की बिना थिङको बताइन् ।

५० बेडको मान्यता पाएको हेटौंडा अस्पतालमा हाल १ सय ८० बेड संचालनमा रहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ड रामचन्द्र सापकोटाले जानकारी दिए । हेटौंडा अस्पतालले हाल २४ सैं घण्टा इमर्जेन्सी, अप्रेसन, नवजात शिशुको निशुल्क उपचार, निशुल्क प्रसुती, स्वास्थ्य बिमा, सामाजिक सुरक्षाअन्तर्गत् निशुल्क उपचार, डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । उनका अनुसार हेटौंडा अस्पतालमा मुख्य आवश्यक भनेको २ सय बेडसहितको स्थायी दरबन्दी हो । करारमा राखिएको कर्मचारीले काम छोडेर जाने कारण भएका उपकरणहरु संचालन गर्ने कर्मचारी नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उनले भने, “अस्पतालमा संरचना निर्माण भएपनि मुटु, न्यूरो, ट्रान्सप्लान्ट, मृगौलाको पथ्थरीको समस्या र आईसीयुमा बेड खाली नभएको अवस्थामा हामी बिरामीलाई रिफर गर्छौ । कतिपय अवस्थामा भने बिरामीले नै रिफर माग्नु हुन्छ ।” उनका अनुसार हेटौंडा अस्पताललाई प्रदेशको केन्द्रिय अस्पतालको रुपमा बिस्तार गर्नुपर्छ ।

२०२२ सालबाट स्थापना भएको अस्पतालमा विभिन्न विषयका ३५ विशेषज्ञ र २७ जना मेडिकल अधिकृतहरुले चिकित्सकीय सेवा प्रदान गर्दै आएका छन् । यस्तै, अस्पताललाई २०० बेडको पिआइसियु, एनआइसियु सहितको सेवा सुविधा विस्तार गर्ने, विशिष्टिकृत सेवासहित एकिकृत रुपमा सेवा उपलब्ध गराउने केन्द्रको रुपमा विकास गर्ने, भविष्यमा छुटै ट्रमा सेन्टर बनाउने योजना रहेको उनले जानकारी दिए । हाल हेटौंडा अस्पतालमा दैनिक ८ सय सेवाग्राहीले सेवा लिँदै आएका छन् ।

नीजि स्वास्थ्य संस्थामा सेवा छिटो, उपचार महंगो
हेटौंडा उपमहानगरपालिकामा दर्ता भएका ४ वटा र प्रदेशमा दर्ता भएका ७ वटा गरी ११ वटा नीजि अस्पताल संचालनमा रहेका छन् । सरकारी अस्पतालको तुलनामा नीजि अस्पतालमा सेवा लिन छिटो र सहज छ । तर, छिटो प्राप्त हुने सेवा सुविधासँगै उपचार पनि महंगो रहेको सेवाग्राहीहरुले गुनासो गर्छन् ।

सरकारी स्वास्थ्य संस्थाको तुलनामा नीजि अस्पताल महंगो भएपनि छिटो सेवा पाईने आशमा बिरामीहरु नीजि अस्पताल धाउने गरेका छन् । हेटौंडाको एक नीजि अस्पतालमा सेवा लिन आउनु भएको हेटौंडा ११ निवासी सीता ढुंगानाले नीजि अस्पतालमा छिटो सेवा प्राप्त हुने जानकारी दिनुभयो । सरकारी अस्पतालमा उपचारको लागि जाँदा दिन नै बिताउनुपर्छ, उहाँले भन्नुभयो, “नीजि अस्पतालमा पनि सोही डाक्टरसँग स्वास्थ्य जाँच गराउने हो ।” सरकारी अस्पतालमा भन्दा नीजिमा डाक्टरले राम्रोसँग स्वास्थ्य परिक्षण गर्ने हेटौंडा ४ की मेलिना राईले गुनासो गर्नुभयो । उहाँका अनुसार सरकारी अस्पतालमा पनि सेवा सुविधा छिटो हुने भए नीजि अस्पताल धाउनु पर्ने बाध्यता हुँदैन थियो ।

हेटौंडा ५ निवासी पुजा दाहाल समय समयमा अस्पताल पुग्नु पर्ने बाध्यतालाई सम्झदै भनिन्, “मेरो त स्वास्थ्यमा समस्या छ । महिनामा ४÷५ चोटी अस्पताल भर्ना भएर बस्नुपर्छ । नीजि अस्पतालमा खर्च धान्न मुस्किल छ । तर, पनि सेवा सुविधाले गर्दा निजि अस्पताल जान बाध्य हुनुपर्छ ।” यस्तै, सास फेर्न समस्या भएपछि हेटौंडाको एक नीजि अस्पताल पुग्नु भएकी हेटौंडा ११ की पारु बिडारीले सेवा छिटो तर, महंगो रहेको गुनासो गरिन । यस्तै, हेटौंडा ४ निवासी रेणु ढकालले सामान्य उपचारको लागि नीजि अस्पताल जाँदा कम्तिमा पनि ५ हजार रुपैयाँ नगद पैसा बोकेर जानु पर्ने बताइन् ।

तर, नीजि अस्पताल संचालकहरु भने सस्तो र गुणस्तरीय सेवा प्रदान गरिरहेको दाबी गर्दै आएका छन् । सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवा नीजि अस्पतालबाटै प्रदान गरिरहेको हेटौंडा सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिए । सरकारी अस्पतालभन्दा बाहेकका समयमा सहकारी अस्पतालमा डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले दाबी गरे । यस्तै, चुरेहिल अस्पतालका रवि थापाले नीजि अस्पतालले आफ्नै लगानीमा सरकारी सेवा अनुरुप सेवा प्रदान गरिरहेको स्पष्ट पारे । नीजि अस्पतालबाट सेवाग्राहीले छिटो र गुणस्तरीय सेवा प्राप्त गरिरहेको उनले बताए । उनले भने, “हेटौंडामा जनसंख्या वृद्धि भएसँगै स्वास्थ्य संस्थाले गुणस्तरीय र विशेषज्ञ सेवा दिन सकेको छैन ।” ठूलो लगानीका कारण सेवा थप गर्न नसकेको उनको भनाई छ । नीजि अस्पतालले पनि बिमाको कार्यक्रम संचालन गरेपछि बिमाको रकम समयमा नै भुक्तानी नहुनुले अस्पताल संचालनमा समस्या भईरहेको उनले बताए । यस्तै, चुरेहिल अस्पतालले विशेषज्ञ सेवा सुरु गर्न महिनाको पहिलो शनिबार ग्यास्टोलोजि र अन्तिम शनिबार मुटु रोग विशेषज्ञ ल्याउने तयारीमा रहेको जानकारी दिए ।

प्रशंसायोग्य आँखा अस्पताल

हेटौंडा उपमहानगरपालिका भित्रको स्वास्थ्य संस्थामा हेटौंडा सामुदायिक आँखा अस्पताल साच्चै नै प्रशंसा योग्य छ । आँखा बिना संसार नै अन्धकार हुने अवस्थामा धेरै बिरामीहरुलाई आँखाको ज्योति प्रदान गर्न अस्पताल सफल भएको छ । तिलगंगा आँखा अस्पतालको शाखाको रुपमा २०६५ साल मंसिरबाट सुरु भएको हेटौंडा सामुदायिक आँखा अस्पतालले सन् २०२२ मा ५ हजार २ सय ६४ वटा आँखासम्बन्धि शल्यक्रिया गरेको जनाएको छ ।

अस्पतालले २ हजार ५ सय जनाको निशुल्क शल्यक्रिया गरिएको छ । सो अवधिमा अस्पतालले ३ हजार ७ सय ७८ वटा ठूला र १ हजार ४ सय ८६ वटा माइनर अप्रेशन गरेको अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिए । एक वर्षमा अस्पतालले ९० हजार सेवाग्राहीलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामिण क्षेत्रमा ३० वटा निशुल्क आँखा शिविर सञ्चालन गरेको उनले जानकारी दिए । सामुदायिक आँखा अस्पतालको सरसफाई र व्यवस्थापनको पक्ष पनि निकै प्रशंसायोग्य छ । अस्पतालमा एकपटक दर्ता भएका सबै बिरामीको जानकारी अस्पतालमा राखिने व्यवस्थाले अस्पताललाई थप विश्वसनीय बनाएको छ ।

गैर नाफामुलक संस्थाको रुपमा सञ्चालित आँखा अस्पतालमा दैनिक ३ सय ५० जनाको हाराहारीमा आँखा परिक्षणको लागि सेवाग्राही आउने गरेका छन् । अस्पतालमा स्वास्थ्य बिमा लागु भएसँगै ५० प्रतिशत बिरामी स्वास्थ्य बिमाको आउने गरेको उनले बताए । तर, स्वास्थ्य बिमाको रकम ढिलो भुक्तानी हुने कारण अस्पताल संचालनमा समस्या भईरहेको उनले गुनासो पोखें । हेटौंडा उपमहानगरपालिकाले सामुदायिक आँखा अस्पताललाई संचालनमा वार्षिक १० लाख रुपैयाँ सहयोग गर्दै आएको जनाएको छ । हाल अस्पतालमा ३ जना डाक्टरहरुले सेवा उपलब्ध गराईरहनु भएकोमा एकजना डाक्टर र २ जना नेत्र सहायकको आवश्यक रहेको उनले जानकारी दिए । आँखा अस्पतालले आफ्नो स्वास्थ्य सेवा बिस्तार गर्दै मकवानपुर जिल्लाको भीमफेदी, राक्सीराङ र मकवानपुरगढी बाहेकका सबै गाउँपालिकामा आँखा केन्द्र संचालनमा ल्याएको छ ।

समग्रमा हेटौंडाको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै विषयवस्तुहरु छन् । हेटौंडामा गुणस्तरीय स्वास्थ्य सेवा लिने र दिने क्रममा सरकार, स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक वा स्वास्थ्यकर्मी सबै पक्ष उत्तिकै जिम्मेवार हुनु जरुरी हुन्छ । हेटौंडामा भएका स्वास्थ्य संरचनासँगै स्वास्थ्य सेवा थप गरी भएका जनशक्तिको व्यवस्थित रुपमा परिचालन आवश्यक छ ।

प्रिया पौडेल
paudelpriya@gmail.com
थप जानकारी