हेटौंडा । हेटौंडा–१३ स्थित पदमपोखरीमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाहको विषयमा स्थानीयको प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा–१३ नम्बर वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा करिब एक दर्जनभन्दा बढी स्थानीयले सार्वजनिक चासोका विषयमा प्रश्न उठाएका थिए ।
स्थानीयले वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, कृषिलगायत सार्वजनिक चासोको विषयमा गुनासा तथा सुझाव राखेका थिए । दीर्घकालीन पूर्वाधार निर्माण गर्नुपर्नेमा सहभागीको जोड थियो । कार्यक्रममा स्थानीयबासी दिपेश मिश्र, नारायणप्रसाद पौडेल, संगीता वाइबा, रामबहादुर वाइबा, शंकर रोक्का, उत्तम वाइबा, सरस्वती तामाङ, राधिका वाग्ले, धिरेन लामा, उत्तरसिं घलान, जगन्नाथ पौडेललगायतले आफ्ना टोलका समस्या र गुनासा राखेका थिए ।
कार्यक्रममा स्थानीयको चासो, गुनासो र प्रश्नको सम्बोधन गर्दै उपमहानगर प्रमुख लामाले स्थानीयको समस्या समाधानमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । उपमहानगरले स्वास्थ्यको विकासमा ध्यान दिएको बताउँदै पदमपोखरीमा ५ शैयाको अस्पताल निर्माणको तयारी भएको बताइन् । त्यस्तै पूर्वाधार विकासको क्रममा पदमपोखरी सडक स्तरोन्नतिको लागि करोडौं रकम छुट्याइएको मेयर लामाले बताइन् । टोलस्तरीय योजनादेखि शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा आवश्यक बजेट छुट्याइएको उनले बताइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले स्थानीयको समस्या समाधान गर्न उपमहानगर सधैं तत्पर रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले उपमहानगरपालिकाले चालू आवमा १३ नम्बर वडामा गरेका कामहरु र आगामी आवमा छुट्याइएको योजनाहरुको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायत विभिन्न शाखाका प्रमुख, प्राविधिकलगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्