हेटौंंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई आइतवार शववाहान हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयबाट स्विकृत कार्यक्रम अनुसार आर्थिक बर्ष २०७८÷७९ मा खरिद गरिएको शववाहान प्रादेशिक अस्पतालहरुलाई हस्तान्तरण गरिएको हो ।

मन्त्रालयले पशुपति चौलागाई अस्पताल (दोलखा), रसुवा अस्पताल (रसुवा), रामेछाप अस्पताल (रामेछाप), चौतारा अस्पताल (सिन्धुपाल्चोक), रत्ननगर वकुल्लर अस्पताल (चितवन), सिन्धुली अस्पताल (सिन्धुली) र त्रिशुली अस्पताल (नुवाकोट) लाई शववाहान उपलब्ध गराएको हो ।

७ वटा शववाहान खरिद गर्न १ करोड ८ लाख ६५ हजार लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मकवानपुरका निर्देशक वसन्त अधिकारीले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयले धादिङ अस्पताललाई पनि शववाहान उपलब्ध गराएको उनले जानकारी दिए ।

शववाहान हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले मानविय संवेदनाको बिषय भएकाले आवश्यकताको आधारमा शववाहान अन्य अस्पतालहरुलाई पनि उपलब्ध गराउने बताए । मन्त्रालय मार्फत सहयोग गरेर नागरिकहरुलाई शववाहानको सेवा निःशुल्क उपलब्ध गराउने वातावरण मिलाउन पनि उनले निर्देशन दिए । मानविय दुःखद् निधन भईसकेपछि शवहरुलाई व्यवस्थापन गनुपर्ने अवस्थामा शववाहानका कारण नागरिकहरुलाई सहजता हुने विश्वास व्यक्त गर्दै उनले मन्त्रालयले आवश्यकताका आधारमा शववाहान हस्तान्तरण गरेको बताए । माग भएर आएमा आवश्यकताको आधारमा मन्त्रालयबाट शववाहान उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै अस्पतालका लागि अत्यन्तै आवश्यक सामाग्री भएको बताए ।

गएको वर्ष मन्त्रालयले ८ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो । वज्रवाराही अस्पताल (ललितपुर), रत्ननगर बकुरहर अस्पताल (चितवन), रामेछाप अस्पताल (रामेछाप), पशुपति चौलागाई अस्पताल (दोलखा), भक्तपुर अस्पताल (भक्तपुर), टोखा अस्पताल (काठमाडौँ), मेथिनकोट अस्पताल (काभ्रे), त्रिशुली अस्पताल (नुवाकोट) लाई ख वर्गको एम्बुलेन्स उपलब्ध गराएको थियो ।