हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा आधा दर्जन घरपरिवारको उठीबास भएको छ ।

आइतवार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले बकैया–१२ कोलखोपमा रहेको मितेरी पावर प्लान्ट बगाएको बकैया गाउँपालिका १२ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईंले जानकारी दिए । उनका अनुसार पहिरोले पावर प्लान्ट बगाएपछि अहिले गाउँ अन्धकारमय भएको छ ।

आइतवार राती सवा ११ बजे बर्षासंगै आएको पहिरोले पावर प्लान्टमा क्षति हुँदा गाउँ नै अन्धकार बनेको उनले बताए । सो पावर प्लान्ट मार्फत वडाको कोलखोप, सिमपानी, महादेवडाड, चपकी, रातोमाटे, नियाले, चारघरेका स्थानीय प्रभावित बनेका हुन् ।

पहिरोले बकैया–१२, धेक्रेकी सिता स्याङतानको घर बगाएको छ । मानविय क्षति नभएपनि घर क्षति हुँदा अन्नवाली, लत्ताकपडा सबै पहिरोमा पुरिएको छ । पहिरोका कारण वडाका आधा दर्जन घरहरु जोखीममा रहेका छन । स्थानीय पेमा लामाको घरमा पानी छिरेको, तीन घरेकी रिता घलेको घर धराप अवस्थामा रहेको वडा अध्यक्ष बजगाईले जानकारी दिए । भौगोलिक विकटताका कारण हामी सबै ठाउँमा पुग्न सकेका छैनौं, लाइन अवरुद्ध भएकाले अन्य स्थानको जानकारी लिने प्रयास गरिरहेका छौं, उनले भने । गोरखापत्रका लागि अनिल पराजुलीले लेख्नुभएको समाचार सामाग्री हामीले साभार गरेका हौं ।