हेटौंडा । हेटौंडा अस्पतालमा १२ वर्षदेखि सञ्चालित एकद्धार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) विभिन्न घटनामा पीडित महिलाहरुको निम्ति सहारा बनेको छ । औषधोपचार सेवासँगै न्यायिक उपचारमा पनि सघाउने भएकाले सहयोगी बनेको हाे ।

यौनजन्य र घरेलु हिंसामा परेका महिलाहरु औषधोपचार, कानुनी कारवाही र मनोबल वढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १५ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन । उनको गर्भ १२ साता नाघिसकेको अवस्था थियो । उनको अनिच्छाको गर्भ ओसीएमसीको पहलमा हेटौंडा अस्पतालका चिकित्सकहरुले फालिदिएका थिए । ओसीएमसीको पहलमा किशोरीलाई वलात्कार गर्ने पुरुषलाई प्रहरीमार्फत पक्राउ गराएर कानुनी कारवाही पनि गरिएको थियो । किशोरीलाई तीन दिनसम्म ओसीएमसीको शय्यामा राखेर उपचार गरेर घर पठाएको थियो ।

यसैगरी ११ वर्षीया बलात्कृत बालिकालाई ओसीएमसीमा नै सात दिनसम्म राखेर उपचार गर्नुको साथै मनोपरामर्श दिएर पठाएको थियो । हेटौंडाको वसामाडीकी २८ वर्षीया महिला पति र सासुबाट निर्घातसँग कुटिएर उपचारका लागि हेटौडा अस्पतालमा ल्याइएकी थिइन । चिकित्सकहरुले ओसीएमसीको प्रमुख अम्रिका श्रेष्ठलाई खबर गरिदिए । उनले ओसीएमसीमा ल्याएर ती महिलाको उपचार गराइन । प्रहरीको महिला सेलमा खबर गरेर ती कुटपिट गर्ने पति र सासुलाई प्रहरी कार्यालयमा झिकाउने काम गरिन । त्यतिमात्र होइन साढे ५ वर्षकी बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी थिइन । उनलाई ओसीएमसीमा ल्याएर उपचार गर्नुका साथै काउन्सिलिङ पनि गरिएको थियो ।

‘पीडित महिलाहरुको निम्ति ओसीएमसी भरोसाको केन्द्र वनेको छ’ प्रहरी उपरीक्षक सीताराम रिजालले भने,‘यौनजन्य र घरेलु हिंसामा परेकाहरुले औषधी र कानुनी उपचार पाउदै आएका छन् ।’ हेटौंडा अस्पतालको परिसरमा सञ्चालित संकट व्यवस्थापन एकद्धार प्रणालीका सेवाहरु मुलुकभरमै उत्कृष्ट भएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु यहाँ अवलोकन गर्न आउने गरेका छन । गत आवमा भरतपुर, सिन्धुली अस्पताललगायतका स्वास्थ्यकर्मीको टिम अवलोकनका लागि यहाँ आएका थिए । यो चालु आवमा ललितपुर र काभ्रेवाट अवलोकन गर्न आएका छन् ।

२०६८ मा हेटौंडा अस्पतालसहित मुलुकका ५ वटा अस्पतालमा ओसीएमसी सेवा सञ्चालन आएको हो । यो सेवा हाल विस्तार गरिएको छ । ‘यहाँको सेवा प्रभावकारी भएकाले अन्य अस्पतालका स्वास्थ्यकर्मीहरु अवलोकन गर्न आउने गरेका छन्,’ अस्पतालका प्रमुख डा. प्रमुख रामचन्द्र सापकोटाले भने,‘विभाग र मन्त्रालयले पनि हेटौंडाकै ओसीएमसीलाई अवलोकनका लागि सिफारिस गर्ने गरेको छ ।’

स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा ३ सय २३ जना महिलाले सेवा लिएका थिए । गत आव २०७९/८० मा ३ सय ३६ जनाले सेवा लिएका थिए । चालु आवको ४५ दिनमा ७७ जनाले सेवा लिइसकेका छन ।

२४ घन्टा खुला हुनुपर्ने र सेवा पनि दिनुपर्ने भएकाले जनशक्तिको अभावले गर्दा ओसीएमसीका कर्मचारीहरुलाई समस्या छ । हेटौंडा कार्यालयमा २ जना मात्र कर्मचारी छन् । जनशक्तिको अभावले गर्दा सेवा प्रदान गर्न समस्या भइरहेको. प्रमुख श्रेष्ठले बताइन ।

कान्तिपुर दैनिकका लागि प्रताप बिष्टले लेख्नु भएको समाचार सामाग्री हामीले साभार गरेका हौं ।