हेटौंडा । विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले नगद ८ लाख रुपियाँ र लागूऔषध सहित पाँच जनालाई पक्राउ गरि आइतवार सार्वजनिक गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीबाट नगद र प्रतिबन्धित अबैध लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाइंलाई सार्वजनिक गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरीले नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई चेक गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागूऔषध फेला पारेको थियो ।

मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६०२ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको उनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । लागूऔषध र नगदसहित ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोरखापत्रबाट