हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दसैं नजिकिँदै गर्दा दुर्गा भगवानसहितको मूर्ति बनाउन कालिगढहरु व्यस्त भएका छन् । हेटौँडाको औद्योगिक क्षेत्र, बसपार्क, बसामाडी लगायत आधा दर्जन स्थानमा मधेश प्रदेशबाट आएका कालिगढहरुले दसैमा पुजाआजा गर्नका लागि नवदुर्गा, सस्वती, लक्ष्मी, गणेश, कार्तिक, शंकर, भैंसासुर राक्षसको मूर्ति बनाएका हुन् ।

मधेश प्रदेशको रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ६ बाट आएक किशुन रियाल साह सहितका पाँच जना कालिगढ मूर्ति बनाउँन व्यस्त रहेका छन । एक सातामा आधा दर्जन मूर्ति निर्माण गरिसक्नेगरि कालिगढहरु काममा व्यस्त रहेका छन् । मधेश प्रदेशबाटै चिम्ट्याईलो माटो ल्याएर उनीहरुले बागमती प्रदेशको राजधानी हेटौँडामा वास, पराल, माटो, काठ, कपडाको प्रयोग गरेर आकार र प्रकार दिर्दै मूर्ति निर्माण गरिरहेका छन् । मूर्तिलाई आकार दिएपछि रङरोगन र सजाउने काम हुन्छ ।

दुर्गा पुजा पश्चात निर्माण गरिएका मूर्तिहरु चितवनको देवघाटमा सेलाउने प्रचलन रहेको दुर्गा पुजा समिति हेटौँडाका सदस्य अनुज कुमार शर्माले बताए । “चन्दा र भक्तालुहरुबाट प्राप्त रकमले हामीले प्रत्येक बर्ष दुर्गा पुजाका लागि मूर्ति निर्माण गर्ने गरेका छौं, विगत ११ बर्षदेखि पुरानै कालिगढहरु तराईबाट हेटौँडा आएर मूर्ति निर्माण गर्नुहुन्छ अनि फर्कनुहुन्छ” उनले भने ।

दसैको घटस्थापनादेखि वियदशमीको टिका सम्म दुर्गा पुजाका लागि मूर्तिहरु राखिने र तत् पश्चात नदीमा सेलाउने गरेको उनले बताए । दुर्गा पुजाका लागि बर्षेनी भक्तालुको बाक्लो उपस्थिती हुने गरेको उनको भनाई छ ।