हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यालय आउजाउ गर्ने प्रयोजनका लागि विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत ११५ जना विद्यार्थीलाई आवश्यकताका आधारमा साइकल प्रदान गरिएको हो । विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरिन् । उनले ग्रामीण क्षेत्रमा विभिन्न समस्याले बिचमा नै विद्यालय छाड्ने समस्या रहेको भन्दै साइकल वितरणपछि विद्यार्थीलाई विद्यालयमा टिकाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा विद्यालयलाई साइकल खरिद गर्न उपलब्ध गराइएको १० लाख रुपियाँ बजेटबाट साइकल वितरण गरिनेभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले घरबाट विद्यालय आउन बढी लाग्ने विद्यार्थीलाई आवश्यकताका आधारमा साइकल प्रदान गरिएको बताए ।

उनले विद्यालयले साइकल वितरण कार्यविधि बनाएको छ, कार्यविधिका आधारमा साइकल प्रदान गरिएको जानकारी दिए । विद्यालयमा प्रधानाध्यापक भानुभक्त आचार्यले साइकल प्रदान गरेसँगै विद्यार्थीको समयमा बचत हुने र अध्ययन गर्ने समय प्राप्त हुने बताए ।