हेटौंडा । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा एमआरआई मेसिन जडान गर्ने काम धमाधम भईरहेको छ । कात्तिक महिना भित्रै उपकरण जडान कार्य सम्पन्नगरि मंसिर पहिलो सातादेखि एमआरआई सेवा सुरु गरिने हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य हीरालाल तामाङले जानकारी दिए । बागमती प्रदेश सरकारको १४ करोड रुपैयाँ लगानीमा मकवानपुरमै पहिलो पटक एमआरआई सेवा दिने तयारी गरिएको हो ।

एमआरआई सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक र जनशक्ति समेत तयारी अवस्थामा राखिएको हेटौँडा अस्पतालले जनाएको छ । एमआरआई प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अंगहरुको सूक्ष्म तथा विस्तृत अध्ययन गरी शरीरका अंगहरुको भित्री बनावट, रोग लागेका अंगहरु तथा क्यान्सरजस्ता रोगहरु पत्ता लगाउन मद्दत गर्ने हेटाौंडा अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताए ।

हेटौंडा अस्पतालमा एमआरआई सेवा सञ्चालन भएपछि यहाँबाट सेवा लिन काठमाडौं, चितवन जानुपर्ने बाध्यता हट्ने भएको छ । हेटौँडा अस्पतालमा एमआरआई सेवा सुरु भएपछि मकवानपुरसहित चितवन मधेस प्रदेशको बारा, पर्सा लगाएतका सेवाग्राहीहरु लाभान्वित हुनेछन् ।

हाल हेटौँडा अस्पतालमा दैनिक १२ सय भन्दा बढी सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिईरहेका छन । स्वास्थ्य विमा कार्यक्रमले हेटौंडा अस्पतालमा सेवाग्राहीको भीड बढेको हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईले जानकारी दिए ।