हेटौंडा । हेटौंडाको राप्ती तटमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागी हेटौंडा–१, राप्तीतटलाई झकिझकाउ बनाएर सजाउने काम भइरहेको छ भने अन्य तयारी पनि अन्तिम चरणमा पुगेको मधेसी सेवा समाजका सचिव नन्दलाल दासले जानकारी दिए ।

राप्तीतटमा सरसफाइ गर्ने, जमिन सम्याउने, गेट बनाउने, पूजा गर्ने स्थानका लागि पण्डाल निर्माण र शृंगारको काम अन्तिम चरणमा रहेको उनले बताए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा संयुक्त मधेसी सेवा समाज नेपालले छठघाट सजाउने काम गरेको हो ।

मकवानपुरमा प्रत्येक वर्ष छठ मनाउनेको संख्या बढ्दै गएको छ । विशेषतः मधेसी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेसी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको दासको भनाइ छ । यस वर्ष हेटौंडाको राप्तीतटमा ६० हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिक रुपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार हुँदै छन् ।

छठपर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको जोहो पनि गर्न सुरु गरिसकेका छन् । छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँस र माटोबाट बनेका अन्य सामग्रीको किनमेल गरेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले जानकारी दिइन् ।

आइतबार साँझको अर्घ्य दिएर मनाइने छठ पर्व विधिवत् रुपमा भने शुक्रबारबाट सुरु भएको छ । छठको पहिलो दिन वर्तालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाउने प्रचलन छ ।