हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा शनिवारराति जङ्गली हात्तीको आक्रमणबाट ५१ बर्षीय कान्छीमाया तामाङ गम्भीर घाइते भएकी छिन् ।

शनिवारराति करिब पौने १२ बजेको समयमा घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीले आक्रमण गर्दा कान्छीमायाको ढाडमा चोट लागी बेहोस् हुँदा प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हात्ती घटना स्थल नजिकै रहेकोमा स्थानीय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोष्ट बाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोष्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरीको टोलीले जङ्गलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने एकिन नभएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । पछिल्लो एकसातादेखि मनहरीको विभिन्न स्थानमा हात्तीले आक्रमण गर्ने घर भत्काउनेक्रम चलिरहेको छ । नियमित हात्ती गाउँ छिर्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन ।