हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–२ स्थित सरस्वती सामुदायिक वनको भीर तल एक जना पुरुषको शव फेला परेको छ ।

शनिबार सरस्वती सामुदायिक वनको वतासेडाँडा स्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

अपरिचित व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर सोही वडाका वडाध्यक्षबाट पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । शवको शनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । शवलाई हेटौँडा अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।