हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले गुट्खाजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको छ । पालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमै गुट्खाजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

मनहरी गाउँपालिकाका प्रशासन शाखाका शैलेष बास्कोटासहित नगर प्रहरी सहायक निरीक्षक थिरनाथ देवकोटाको टोलीले वडा नं ६ र ७ मा अनुगमनका क्रममा करिब ८ प्याकेट गुट्खाजन्य पदार्थ जफत गरेको छ । सुरुवातमा विक्रेतालाई गुट्खाजन्य पदार्थ विक्री वितरण नगर्न आग्रह गरेका थियौं, उहाँहरुले विक्री गर्न छाड्नु भएन, अनि हामी जफत गर्न बाध्य भएका हौं, प्रशासन शाखाका बास्कोटाले भने ।

गुट्खाजन्य पदार्थ बिक्री वितरण रोक लगाउन पालिकाले सूचना प्रकाशनगरी विक्रेताहरुलाई सचेत पनि गराएको थियो । पालिकाभित्र गुट्खाजन्य पदार्थ विक्री वितरणमा कमी नआएपछि पालिकाले नगरप्रहरी परिचालन गरी गुट्खाजन्य पदार्थ जफत गरेको छ ।

पालिकाले पहिलो चरणमा नगरप्रहरी परिचालन गरी एक सातासम्म गुट्खाजन्य पदार्थ विक्रेतालाई विक्री वितरण नगर्न आग्रह समेत गरेको थियो । मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले नगर प्रहरी भर्ना गरी गुट्खाजन्य पदार्थ नियन्त्रण गर्ने निर्णय समेत गरेको थियो ।

पालिकाले एक जना प्रहरी सहायक निरीक्षक, २ जना हवल्दार र ७ जना जवान गरी कुल १० जना नगर प्रहरी भर्ना गरेको छ । बजार अनुगमनमा ईलाका प्रहरी कार्यालय मनहरी र सुनाचुरीका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।