हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ र ८ मा जङ्गली हात्तीले शुक्रवार तीन घरमा क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जङ्गली हात्तीले मनहरी गाउँपालिका–७ शान्तिटोल र ८ नं. सिमपानीका घरमा क्षति गरेको हो । हात्तीले शुक्रवार राती ११ बजे मनहरी ७ शन्तिटोलका संजय साहको काठको घरको ढोका भत्काई घर भित्र रहेको एक बोरा धान खाएको छ भने सोही स्थानकी लक्ष्मी परियारको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको एक साईडको भित्ता भत्काएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै वडा नं. ८ सिमपानीमा शिबलाल प्रजाको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको छानो र एक साईडको भित्ता भत्काई हात्तीले एक बोरा चामल खाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसअघि पनि मनहरीको विभिन्न स्थानमा जङ्गली हात्तीले घरमा क्षति पुर्याउँदै आएको छ ।