हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाएको छ । मंगलवार बिहान मनहरी ७ स्थित रमौलीमा छिरेको जंगली हात्तीले चार वटा घरमा क्षति गरेको छ ।

बिहान ६ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँ छिरेको हात्तीले रमौलीका खड्ग ब.थिङको काठ र टिनले बनेको भान्साकोठा भत्काई नष्ट गरेको छ भने भगवती सुवेदीको घरको अगाडिको काठको पाली भत्काएको छ ।

त्यस्तै अर्जुन दहालको घरको अगाडिको काठको पाली भत्काई धान खाइदिनुका साथै चित्र ब.घलानको घरको जस्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हात्तीले क्षति गरेको सम्बन्धमा जानकारी पाएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, सहायक प्रहरी पोष्ट कत्ले खोला र मनहरीबाट टोली खटिएको टोलीले हात्तीलाई जङगल तर्फ लखटेको प्रहरीले जनाएको छ । मनहरीमा यसअघि पनि आधा दर्जनबढी घरमा हात्तीले क्षति पु¥याएको छ ।