हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका स्थित छतिवनमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । बकैया गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बकैया ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको हो ।

आँखा केन्द्रको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले ९५ वर्षीया पूर्ण राईलाई आँखा जाँचका लागि ओपीडी कार्ड हस्तान्तरण गरी केन्द्रमा पूर्णरुपमा आँखा जाँच कार्यक्रम शुरु गरिएको हो । उद्घाटन पश्चात पालिका अध्यक्ष लामिछानेले बकैया गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालको सक्रियतामा केन्द्र स्थापना हुँदा यस क्षेत्रका मानिसहरुले आँखाका सामान्य समस्याका लागि हेटौँडा जानुपर्ने बाध्यता हटेको बताए ।

केन्द्रमा आँखा जाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमित आँखा शिविर पनि सञ्चालन गरिनेछ । निशुल्क आँखा शिविरमा १ सय ८५ जना बिरामीको आँखा जाँच गरिएकामा २३ जना मोतिविन्दुका बिरामीहरुको भेटिएको छ । यसअघि मकवानपुरका ६ वटा पालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भइसकेको छ । मकवानपुरको मनहरी, बागमती, ईन्द्रसरोवर, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा ग्रामीण आँखा केन्द्र स्थापना भइसकेको हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए ।

हेटौँडा सामुदायिक आँखा अस्पतालले आवश्यक उपकरणको व्यवस्थापन गर्ने र सम्बन्धित पालिकाले आँखा केन्द्र सञ्चालनका लागि स्थान र २ जना जनशक्ति व्यवस्थापन गरेपछि आँखा केन्द्र स्थापना हुने हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । हेटौँडा आँखा अस्पतालले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराउँदा पालिकाले नासु सरहको नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । मकवानपुरका १० वटा पालिकामध्ये राक्सिराङ, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा मात्रै ग्रामीण आँखा केन्द्र स्थापना हुन बाँकी रहेको छ ।