हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलवार दोस्रो सेमिफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्दैछ ।

दिउँसो १ बजेहुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । विजयी टोलीले उपाधीका लागि बिहीबार मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।