हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १,भोटेचौरस्थित सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गरेका छन ।
२५ जना युवाले सिन्धु मल्टिपर्पोट कम्पनी प्रा.लि. मार्फत विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आएको अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गर्दै प्रमुख शर्माले कृषिलाई पर्यटनसंग जोडेर गरिएको कामको प्रशंसा गरे । मेहनत गर्ने हो भने आफ्नै देशमा पनि प्रसस्त सम्भावना छ भन्ने उदाहरण बनाउन युवाहरुको समूह लागिपरेकोमा प्रमुख शर्माले खुशी व्यक्त गरे । देशमै केही गर्छु भन्ने सोच भएकाहरुका लागि यस खालको कार्य प्रेरणादायी हुने प्रमुख शर्माको भनाई छ ।
कृषि कर्मबाट जीविकोपार्जन गर्न सकिन्छ लक्ष्य लिएर आफूहरु सहितको समूहले एकीकृत फार्म सञ्चालनमा ल्याएको फार्मका कार्यकारी अध्यक्ष झलकप्रसाद सुवेदी सुवेदीले बताए । सुवेदीका अनुसार फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज काठमाडौंसम्म लगी बिक्री वितरण गर्ने गरिएको छ । फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा रहेको उनले बताए ।
व्यवसायिक कृषि विकासमा उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेको भन्दै अध्यक्ष सुवेदीलाई बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालयले हिजो शुक्रबार मात्रै पुरस्कृत गरेको छ । निर्देशनालयले नगद ५० हजार राशीसहित आ.व. २०८०/०८१ का लागि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार (प्रदेशस्तर) मा प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्