हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना दिएका छन् । उनले बिहीवार शुभकामना सन्देश जारी गर्दै गौतम बुद्धको २५६८ औं जयन्ती र किराँत समुदायको उँभौली पर्वको शुभकामना दिएका हुन ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश भएकाले सबै एकतावद्ध हुनुपर्ने बताए । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान रहेको जिकिर गर्दै यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्पराहरू रहेको बताए । सांस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपाली बीचको एकतालाई थप बलियो बनाउने मुख्यमन्त्रीको विश्वास छ ।

उँभौली पर्व वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकोले प्रकृति पूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन भनेर भूमि, बालीको पूजाका साथमा विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ती, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग यो पर्व मनाउने परम्परा रहिआएको छ । विशेष सांस्कृतिक पर्वको रूपमा रहेको उँभौली पर्वले संस्कृतिको जगेर्ना, मौलिक उत्पादन र पहिचानको संरक्षणमा जोड दिने मुख्यमन्त्रीको भनाई छ । संस्कृतिको संरक्षण तथा उत्पादन र उद्यममा जोडिन देशवासीलाई आग्रह समेत गरे ।