हेटौंडा । साइकल चढौं, स्वस्थ रहौं, वातावरण जोगाऔं, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरौं भन्ने नारासहित हिमालयन राइडर्स सोसाइटीले विश्व वातावरण दिवस २०८१ मनाएको छ । डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा सोसाइटीको संयोजनमा शनिबार वातावरण सचेतना साइकल र्याली गरिएको हो ।
बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले रिवन काटेर डिभिजन वन कार्यालयको परिसरबाट साइकल र्यालीको सुरुवात गरेका थिए । ५२ औं विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित साइकल र्याली मा मकवानपुर, बारा, चितवनका करिब २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
डिभिजन वन कार्यालय मकवानपुरको आयोजना र हिमालयन राइडर्स सोसाइटीको समन्वयमा विश्वबाट लोपोन्मुख सालक सरक्षण गरौं भन्ने उद्देश्यले गरिएको साइकल र्यालीमा ८ वर्षीय बालकदेखि ७१ वर्षीय जेष्ठ नागरिकको सहभागिता रहेको थियो । हिमालयन राईडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार र्यालीमा सहभागीहरुले करिब २७ किलोमिटर राइड गरेका थिए ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी, चुच्चेखोला सामुदायिक वन समिूह, पिप्लेपोखरा सामुदायिक वन समूह, सुन्दर सामुदायिक वन समूहले ¥यालीलाई सहयोग पुर्याएका थिए । डिभिजन वन कार्यालय हेटौंडाबाट सुरु भएको र्याली सामरी, मेनरोड, फरेष्ट्री क्याम्पस, हुप्राचौर, कान्तिराजपथ, क्याम्पाडाँडा, गौरीटार रंगशाला, चौघडा, चुच्चेखोला, गैरीगाउँ हुँदै सालक पार्कमा पुगेर बिसर्जन गरिएको थियो ।
समापनका अवसरमा डिभिजन वन कार्यालयप्रमुख राकेशप्रसाद चन्द्रबंशी, बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको योजना तथा अनुगमन महाशाखाप्रमुख शंभु तामाङ, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत हेमकुमार पाठक, वन कर्मचारी यादबिन्द्र पौडेल, प्रदीप थापालगायत सहभागी थिए ।
सालपकार्कमा फेला परेको सालकलाई उसको बासस्थानमा छोडिएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला साईक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ, बारा राइडर्स एसोसियसनका रामेश्वर बास्कोटा, निजगढ राइडर्स क्लबका सियाराम चौधरी, हेटौंडाका साईक्लिस्टहरु विद्यार्थी, शिक्षक, कलेजका प्रोफेसर, डाक्टर, इन्जिनियर, बुद्धिजीबी, व्यापारी, कर्मचारी, राष्ट्रसेवकलगायतको सहभागिता रहेको थियो ।
सालक र हाम्रो मित्रता, उसलाई जोगाउने हाम्रो प्रतिबद्धता भन्ने प्लेकार्ड, ब्यानरसहित र्याली गरिएको हो । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्षमण कटवाल, सालकमा विद्यावारिधि गरिरहेकी भक्तपुरकी प्रतिभा कस्पल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाललगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्