हेटौँडा । भूकम्प र आगलागी लगायतका प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको कृत्रिम अभ्यास गरिएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा शुक्रवार बिहान मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा बागमती प्रदेशस्तरीय विपद प्रतिकार्य कृतिम अभ्यास गरिएको हो ।

विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप कृत्रिम घटना अभ्यास गरिएको मन्त्रालयले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट, रेडक्रस र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टीमले पूर्व तयारी स्वरुप कृत्रिम घटनाको अभ्यास गरेको हो । गत बर्ष प्रदेश सरकारले चितवनको नारायणी नदीमा कृत्रिम अभ्यास गरेको थियो ।

विपद्को समयमा प्रभावकारी रुपमा उद्धार कार्यमा सजिलोका लागि कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो । विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तिले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् ।

प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु गरिएको र विपद्पछि पनि सहजीकरण गर्न सहज हुने आयोजकलको भनाई छ । नेपालमा विभिन्न प्रकोपहरु जस्तै बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरीले वर्षेनी धनजनको क्षति हुने गरेको छ ।