हेटौंडा । एक सय ७ वर्षअघि निर्माण भएको दक्षिण एसियाकै पहिलो सुरुङमार्ग चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकीय अवलोकनको लागि खुला गरिने भएको छ । हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग आज सोमबारबाट सर्वसाधारणको अवलोकनको लागि खुला गरिन लागिएको हो ।

आज एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गर्दैछ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ बीच भागमा भासिएर जोखिम अवस्थामा रहेको थियो । बागमती प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जिर्णोद्धार गरेको हो । २ सय २५ मिटर लामो सुरुङको चौडाई २ दशमलव ५ मिटर रहेको छ भने उचाई ३ मिटर रहेको छ । २०७८ वैशाखमा सुरुङ मर्मतको काम सुरु भएकोमा २०८० को असोज महिनामै निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएता पनि सञ्चालनको अन्यौलताको कारण एक वर्षभन्दा बढी समय सुरुङको दुवैतर्फको गेट बन्द गरेर राखिएको थियो ।

सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । आफूहरुको मातहतमा आइसकेपछि सुरुङलाई पर्यटकीय केन्द्र बनाउनको लागि विभिन्न कामहरु गर्ने योजना रहेको मेयर लामाले बताइन् । सुरुङमार्ग अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमान गरिएको छ ।

एक सय ७ वर्षअघि निर्माण गरिएको सुरुङमा एक दशकभन्दा बढी साना हलुका सवारी साधनहरू आवतजावतसमेत गरेका थिए । तत्कालीन समयमा ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङमार्ग चुरे पहाड शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि प्रयोगबिहीन रहेको थियो । बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसंग जोड्ने सडक निर्माण गर्न गर्ने बेला यो सुरुङ निर्माण भएको थियो ।

काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ । तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग निर्माणमा नेपाली सेना खटिएका थिए । भारतको रक्सौलबाट बारा जिल्लाको अमलेखगन्जसम्म रेल मार्ग भएर आउजाउ गर्न र मालसामान ओसारपसार गर्न सकिने भए पनि अमलेखगन्जबाट मकवानपुरको हेटौँडा र भीमफेदीसम्म आइपुग्ने सडक मार्गलाई जोड्न सुरङमार्ग उपयोगी बनेको थियो । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरे पहाड छिचोल्ने गरी उक्त सुरुङ मार्ग तत्कालीन समयमा उपलब्ध प्रविधिसँगै माटो, इँटा, चुना र सुर्ती प्रयोग गरी निर्माण गरिएको थियो ।