काठमाडौँ । बागमती प्रदेशका कलाकारका सिर्जना समावेश भएको ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ ।
ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का पूर्वकुलपति किरण मानन्धरले नाफाद्वारा राजधानीमा आयोजित प्रदर्शनीको सोमबार उद्घाटन गर्दै नेपालको प्रतिष्ठानको उद्देश्य साकार हुँदै गएकोमा खुसी व्यक्त गरे। उनले नेपालको माटो सुहाउँदो कला सिर्जनाको प्रवर्धनबाट यस क्षेत्रले उचाइँ लिने, देशको पहिचान झल्काउने विचार व्यक्त गर्दै प्रतिष्ठानले हाल प्रदेशस्तरीय कला प्रदर्शनीको आयोजना गर्दै स्थानीय कलाकारका सिर्जनाका लागि ठाउँ दिँदा कलाको वास्तविक प्रवर्धन भएको बताए।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बागमती प्रदेश ललितकला प्रतिष्ठान गठनका लागि पहल भइरहेको बताउँदै आगामी दिनमा सोही प्रतिष्ठानको साधनस्रोतको सदुपयोग गरी बागमती प्रदेशस्तरीय कला प्रदर्शनीको आयोजना गर्ने आशा व्यक्त गरे। उनले हालसम्म प्रदेश ललितकला प्रतिठानको गठन नहुँदा नेपाल ललितकला प्रतिष्ठानको सीमित बजेटबाटै बागमती प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्र्दै आएको बताए। प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रादेशिक ललितकला प्रदर्शनीले कर्णाली, कोशीलगायत सबै प्रदेशका स्थानीय कलाकारका सिर्जना आउन थालेको बताउँदै कलाकारको हौसला वृद्धि भएको बताए। ललितकला क्याम्पसका क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले प्रदर्शनीमा सहभागी कलाकारका सिर्जनाले प्रकृतिको प्रतिविम्ब, धर्म, अध्यात्म, परम्परा, जीवनशैलीको लयलाई एकै स्थानमा ल्याएको बताए। उनले प्रदर्शनीले कला पारखी, कला सङ्कलक र कलाकारलाई जोड्ने पुलको काम गरेको बताए।
‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ आयोजित बागमती प्रादेशिक ललितकला प्रदर्शनीमा कलाकारहरू लालकाजी लामा, रवीन्द्रकुमार श्रेष्ठ, सौरगङ्गा दर्शनधारी, मनिष लामाका व्यङ्गात्मक, सन्देशमूलक चित्र रहेका छन् । प्रदर्शनीमा बागमती प्रदेशका २०९ जना कलाकारका २४१ वटा परम्परागत, वास्तु, सिर्जना, थाङ्का, पौभा, आधुनिक, मूर्त/अमूर्त चित्र, मूर्तिकला रहेका छन् । प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुने छ । सोही अवसरमा अग्रज कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौडेल, शारदामान श्रेष्ठ, सुनिता राणा, सुषमा राजभण्डारी, धर्मबहादुर तामाङ र सरिता डङ्गोललाई सम्मानपत्र, दोसल्लाद्वारा सम्मान गरियो । साथै बागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ को क्लाटलग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ललितकला प्रज्ञा पत्रिका लोकार्पण गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्