हेटौँडा । बागमती नदीको पानीबाट तीन सय रोपनी क्षेत्रमा लिफ्ट सिँचाइ गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका १२ स्थित ठिंगनबेंसीमा बागमती नदीको पानी तीनसय २५ मिटर भन्दामाथि उचाइमा लिफ्टमार्फत तानेर सिँचाइ गरिएको हो ।

हिउँदको समयमा सधैँ उजाड रहने माटोमा सिँचाइ सुविधा भएपछि कृषि उत्पादन गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय हेटौँडाबाट गत आवमा विनियोजन भएको बजेटबाट लिफ्ट सिँचाइ निर्माण भएको हो ।

बकैया गाउँपालिका १२ ठिंगनबेंसीका ३० घरपरिवारका लागि लिफ्ट सिँचाइ योजना निर्माण भएको हो । यहाँको तीन सय रोपनी जमिनमा सिँचाइ हुने गरी उक्त योजनाको लागत ६७ लाख रुपियाँ रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । उपभोक्ता समितिले लिफ्ट सिँचाइ र नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको काम गरेको हो ।

गत असोज ११ र १२ गते आएको वर्षासँगको बाढीले यहाँको इनार र पानी तान्ने पम्पमा क्षति भएपछि बकैया गाउँपालिकाको तीन लाख आर्थिक सहयोगमा पुनः निर्माण गरिएको ठिंगनवेंशी बागमती लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष रुपेन घलेले जानकारी दिनुभयो । ११ केभिएको प्रसारण लाइनबाट स्टेपडाउन ट्रान्सफर्मरको प्रयोग गरेर लिफ्ट सिचाइ गरिएका उहाँले बताए। गत आवमा सुरु भएको योजना चालु आवमा सम्पन्न भई सञ्चालनमा आएको छ।

गाउँमा लिफ्ट सिँचाइ आएपछि यहाँका स्थानीय नवराज दहाल खुसी भए। सिचाइ अभावका कारण बाझो रहेको जग्गामा कृषि उत्पादन हुनेभएपछि उनी खुसी भएका हुन। बागमतीको पानी लिफ्ट सिँचाइबाट आएपछि स्थानीय चेतनाथ घिमिरे पनि व्यावसायिक तरकारी खेती गर्ने योजनामा हुनुहुन्छ । त्यस्तै यहाँका स्थानीय भूमिनन्द दहाल पनि हिउँदे बाली लगाउने तरखरमा हुनुहुन्छ । गाेरखापत्रबाट