हेटाैँडा । हेटौँडा–९, लामसुरेधापमा रहेको मानब सेवा आश्रम सञ्चालन स्थापना गर्न लागेको अक्षकोषमा हेटौंडा उपमहानगरपलिकाले डेढ करोड रुपियाँ सहयोग गर्नेे भएको छ ।

अक्षकोष स्थापनाका लागि आइतबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा बोल्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले आश्रमले स्थापना गर्ने अक्षकोषका लागि १ करोड ५० लाख रुपियाँ अनुदान दिने घोषणा गरेकी हुन् । आश्रमले स्थापना गर्न लागेको अक्षकोषको बृद्धिका लागि सबैक्षेत्रको सहयोग जरुरी रहेको बताइन् । आश्रमको दिगो बिकासका लागि उपमहानगर सहित बागमती प्रदेश सरकार जिम्मेवार बन्नु पर्ने बताइन् । मानबताको शहरको रुपमा रहेको हेटौंडाबाट सुरु भएको सडक मानब मुक्त अभियानलाई सबै क्षेत्रले अवलम्बन गर्दै अघि बढ्नु पर्ने बताइन् ।

आश्रमको मुख्य कार्यालयमा सञ्चालन भएको महायज्ञबाट आश्रमले १० करोडको अक्षयकोष निर्माण गर्ने उद्देश्य राखेको छ । महायज्ञको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् । उद्घाटनमा मुख्यमन्त्री लामाले प्रदेश सरकारले अक्षयकोषका लागि अनुदान रकम सहयोग गरिने प्रतिबद्धता जनाएका थिए । उनले महायज्ञको उद्घाटनसँगै व्यक्तिगत २५ हजार रुपैयाँ हस्तान्तरण गरे ।

महायज्ञको उद्घाटन पुर्व कुष्माण्ड सरोबर (त्रिवेणीधाम) बाट कलश यात्रा महायज्ञ स्थल सम्म गएको थियो । महायज्ञसुरु भएसँगै हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरनबहादुर जोशीले ५ लाख रुपियाँ दिने प्रतिबद्धता जनाए । त्यस्तै डाक्टर कृष्ण धिताल र उनका श्रीमती चन्द्रावती अर्यालले ५ लाख ११ हजार एक सय ११ रुपियाँको चेक हस्तान्तरण गरेका छन् ।

महायज्ञ आश्रमको क्षमता अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने र मानवता प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले लगाइएको बताइएको छ । आश्रममा किचेन कोल्डस्टोरसहितको भवन निर्मार्ण, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य पुरा गर्ने उद्देश्य रहेको छ ।

पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित विशाल शोभा कलशयात्रा गरिएको थियो । दोस्रो दिनबाट २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवद्र्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम रहने आयोजकले जनाएको छ ।

बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौंडामा गर्न लागेको हो ।