हेटौंडा । देशभर निर्माण सामग्रीमा अप्रत्याशितरुपमा मुल्य वृद्धि भएका कारण विकास निर्माणको काम ठप्प हुने अवस्था रहेकोभन्दै मकवानपुरका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् ।

निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधन र वीमा समितिले जारी गरेको वीमा सम्बन्धि निर्देशिका–२०७८ ले गर्दा प्रिमियम दरमा भएको अत्याधिक वृद्धिको विषयलाई समेत आफ्नो आन्दोलनको विषय बनाएका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बालगोपाल कडेँलले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले निर्माण सामग्रीमा अप्रत्याशितरुपमा भएको मूल्य वृद्धिका कारण व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

सार्वजनिक खरिद ऐनको संशोधनले साना निर्माण व्यवसायीलाई समस्या भइरहेको र यसले निर्माण व्यवसायीवीच ठूलो अन्तर पैदा गर्ने संघ मकवानपुर महासचिव बालकुमार मल्ल ठकुरीले सार्वजनिक ऐनमा आफूहरु गरेको विरोधको सुनुवाइ तत्काल नभएको खण्डमा निर्माण व्यवसायी थप आन्दोलित हुने बताए ।

आन्दोलनको कार्यक्रमअन्तर्गत् शुक्रबार ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ, एसोसिएट तथा वस्तुगत संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउन संघका महासचिव बालकुमार मल्ल, कोषाध्यक्ष ईश्वर पाठक, उपमहासचिव भवनाथ अधिकारीसहितको निर्माण व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।