हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडाको शिरमा रहेको छ, आस्थाकी देवी पाथिभरा माताको मन्दिर । हेटौंडाको बुद्धचोकदेखि करिव ३ किलोमिटर दुरीमा पाथिभरा मन्दिर पर्दछ ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरवडामा अवस्थित यो मन्दिर सहजै पुग्न सकिन्छ । मनोरम, हरियाली दृश्य हेर्दै माता पाथीभराको दर्शन गर्न जान पाइन्छ भने हेटौंडाको भैरवडाडाबाट हेटौंडाको मनोरम दृश्य देख्न सकिन्छ । पाथीभरा दर्शन गर्न हिडेर वा गाडि, मोटरसाईकलबाट सजिलै पुग्न सकिन्छ । पदयात्रा गरेर करिव ३० मिनेटमा यहाँ पुग्न सकिन्छ ।

प्राकृतिक दृश्यले भरिपूर्ण, मनोरम दृश्य, आनन्ददायी वातावरण तथा पाथीभरा माताको अलौकीक शक्ति पीठको रुपमा यस क्षेत्रलाई लिने गरिन्छ । यहाँ धार्मिक पुजा हुँदा होस् वा विदाको समय घुम्न जानेहरुको लागि यो उपयुक्त गन्तव्य पनि हो । मन्दिर संगै रहेको भ्यू टावरवाट पाथीभरा मन्दिर संगै यहाँबाट हेटौंडा बजारको मनोरम दृश्य देख्न सकिन्छ । यहाँको दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि मन्त्रमुग्ध गर्छ । अध्यात्म तथा धार्मिक पर्यटन विकासमा समेत यस क्षेत्रले टेवा पुर्‍याएको छ ।

मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गरिर्दै आएको छ । यज्ञमा देशका विभिन्न मन्दिरहरुबाट गुरुहरुको सहभागिता रहने गरेको छ । कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने र पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।