हेटौंडा । श्रमजीवी पत्रकारको अवस्था उस्तै रहेको प्रति हेटौंडामा आयोजित एक कार्यक्रममा पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन । कागजपत्रमा मात्रै श्रमजीवी पत्रकारले तलव, सेवा, सुविधा पाएको उल्लेख भएपनि वास्तविक रुपमा उनीहरुको अवस्थामा कुनै परिर्वतन नआएको उनीहरुले बताएका हुन ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकार तथा संचारकर्मीहरुले संचारगृहको संख्या बढेपनि काम गर्ने संचारकर्मीहरुले उचित तलब, सेवा, सुबिधा नपाएको प्रति गुनासो पोखेका थिए । केन्द्रीय स्तरबाट संचालन हुने तथा मोफसलका प्रायः संचार माध्यममा कार्यरत संचारकर्मीको अवस्थामा कुनै परिर्वतन नआएको उनीहरुले गुनासो गरेका हुन ।

न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजन तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा अन्तरक्रिया कार्यक्रमको भएको थियो । कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजिवि पत्रकार कार्यान्वयनका बिषयमा पत्रकारहरुबाट आएको सुझावलाई ग्रहण गर्दै आफ्नो कार्यकालमा ऐन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताइन ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार मर्यादित हुनुपर्ने भन्दै नजिकिदै गरेको निर्वाचनमा निष्पक्षता देखाउन आग्रह गरेका छन् । उनले प्रेस काउन्सिल पत्रकार हकहितका लागि सदैव काम गर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारका लागि गरिने छलफल र बहसबाट हकअधिकार प्राप्त गर्न सहयोग पुग्ने भएको छलफल र बहसलाई निरन्तरता दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल,सुनिल खड्का, वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सञ्चारिका समूह वागमती प्रदेश अध्यक्ष सरिता दाहाल,नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा,नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष धुव्र अधिकारी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) का केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईले लगायतकाले बोलेका थिए ।