हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएको छ । नागस्वतीको कुखुरा व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।

उनको फार्ममा रहेका ४ हजार कुखुरा मध्ये सयौको सङ्ख्यामा कुखुरा मरिसकेको बताईएको छ  । ९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि आज बिहिवार  बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको प्रमुख डाक्टर ठाकुरले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक
बर्ड फ्लु प्रमाणित भएको  फार्मको कुखुराहरू नष्ट गर्ने टोलि फिल्डमा जांदै गरेको मकवानपुरका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए ।

आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नस्ट गरिने उनले बताए । बर्ड फ्लू प्रमाणित भएको रिपोर्ट आएपछि बर्ड फ्लू नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नस्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी  गैह्रेले बताए ।

र्‍यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो गरि आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले आक्रोश व्यक्त गरे। र्‍यापिड टेस्टलाई आधार मानेर क्षतिपूर्ति दिन सकेमात्र किसानलाई राहत हुने अधिकारीले बताए । “राज्यले परीक्षण खर्च बचाउन खोज्दा किसान मारमा परे, र्‍यापिड टेस्ट गर्दा ज्यूदो रहेको कुखुराको राज्यले क्षति पाउनुपर्छ, नत्र रिपोर्ट आउदा खोर खालि हुन्छ” उनले भने “किसानलाई न्याय दिइन्न भने हामी व्यवसायीको साथ प्रशासनलाई पनि हुन्न ।”

बैठकमा पशुपंछि तथा मत्से बिकास निर्देशनालयका निर्देशक गोपालप्रसाद साहले बर्ड फ्लु नियन्त्रण नियमावली २०७६ अनुसार नियन्त्रण तथा नियमन गरिने र कानुनतः किसानलाई राहत उपलब्ध हुने बताए ।

बैठकमा प्रहरी निरीक्षक बलराम श्रेष्ठ, कुखुरा व्यवसायी संघ अध्यक्ष गोकुलनाथ पौडेललगायतको उपस्थिति थियो । बैठकमा सहभागी किसानहरूले रिपोर्ट ढिलो प्राप्त हुदा नोक्सान बढ्ने गरेकोमा टिप्पणी गरेका थिए । बैठकले छिटोछिटो रूपमा रिपोर्ट उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

सहीखबरबाट