हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा कोभिड–१९ विरुद्ध खोपको ’बूस्टर डोज’ दिइएको छ ।

हेटौंडा स्थित वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा प्रत्येम महिनाको १२ गते ’बूस्टर डोज’ दिइएको हो । आज अनमी सुन्तिस्ना श्रेष्ठले स्वास्थ्य केन्द्रमा आएका सेवाग्राहीहरुलाई ’बूस्टर डोज’ लगाएकी थिइन् । स्वास्थ्य केन्द्र मार्फत मोर्डनाको बूस्टर डोज प्रदान गरिएको थियो ।

बूस्टर डोज के हो?

कोरोनाभाइरसविरुद्ध दिइने खोपबाट शरीरमा विकसित हुने प्रतिरक्षात्मक क्षमता घट्दै गएपछि त्यसलाई पुन: सक्रिय बनाउन दिइने खोपको मात्रालाई बूस्टर मात्रा भनिने गरिएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी कोभिड-१९ विरुद्धको खोप एक पटक लगाएर जीवनभरि ढुक्क भएर बस्ने प्रकृतिको खोप नभएका कारण दुई मात्रा प्राथमिक खोप लगाएकाले पनि बूस्टर खोप लगाउनुपर्ने बताउँछन्।

“बूस्टर भनेको रोग प्रतिरोधात्मक शक्ति छ, त्यसलाई अझ बढाउने अर्थात् बूस्ट गर्ने मात्रा हो। त्यसैले यो मात्रा लगाउनैपर्छ,” अधिकारीले भने।

अतिरिक्त मात्रा र बूस्टर मात्रामा पनि भिन्नता भएको उनी बताउँछन्।

“दुई मात्रा दिइसकेकालाई भन्यौँ भने त्यो बूस्टर भयो। प्रतिरोधी क्षमता कम भएका र दीर्घरोगीका लागि प्रतिरोधी क्षमता बढाउन दिइने अतिरिक्त मात्रा हो,” उनले भने।

एन्टिबडी भनिने रोगप्रतिरोधका लागि शरीरमा बन्ने तत्त्व बिस्तारै क्षीण हुँदै जाने र थप खोप नदिए फेरि रोग लाग्न सक्ने सम्भावना बढ्दै जाने भएकाले बूस्टर डोज लगाउनुपर्ने विज्ञहरू बताउँछन्।

साधारणतया दोस्रो मात्रा खोप लगाएको छ महिनापछि बूस्टर मात्रा दिनु उपयुक्त हुने विशेषज्ञहरूको सुझाव छ।