बिफरको पछिल्लो प्रजातिका रूपमा अर्थ्याइएको मंकीपक्स २१ वटा मुलुकमा फैलिएको छ।

इन्डिया टुडेका अनुसार अमेरिका, क्यानाडा, स्विडेन, जर्मनी, बेलायत, फ्रान्स, स्पेन, यूएई, इजरायल, अस्ट्रेलिया, इटाली, फिनल्यान्ड, सुडान, बोलिभिया, बेल्जियम, अर्जेन्टिनालगायत मुलुकमा मंकीपक्सका बिरामी फेला परेका छन्।

सबैभन्दा बढी स्पेनमा ५५र क्यानाडामा ३४ बिरामी फेला परेका छन्। ३३० जना बिरामीमा मंकीपक्स पुष्टि भइसकेको छ भने ९९ नमूना परीक्षणका क्रममा छन्।

‘मंकीपक्स’ मध्ये तथा पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने जनाएको छ । यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट हुन्छन् ।

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।

खासगरी हात र गोडाका पैतालामा बिमिराहरू बढी देखिन्छ । केही दिन निकै चिलाउने वा दुख्ने भए पनि बिमिराहरू बिस्तारै हराउँछन् । तर बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ । यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ । पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ । हालसम्म मंकीपक्स भाइरस थोरै संख्यामा मात्र पुष्टि भएको छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा भने सर्दैन, जसका कारण मंकीपक्स कोरोना जस्तो आम रूपमा फैलने सम्भावना देखिन्न । तर पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै अनुसन्धान गरिरहेका वैज्ञानिकसमेत अचम्ममा परेका छन् ।

खासगरी जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरू बताउँछन् । डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ ।

यो भाइरसलाई यौन रोगका रूपमा हेरिएको छैन । तर यौन क्रियाकलाप गर्दा यो सर्न सक्छ । पछिल्लो समय देखिएका अधिकांश संक्रमण यौन सम्पर्कको समयमा सरेको ठानिएको छ । जसका कारण धेरैजसो संक्रमितका यौनांगनजिक डाबरहरू देखिएका छन् । संक्रमण नियन्त्रण गरेर यो भाइरसबाट बच्न सकिन्छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने डब्लूएचओले जनाएको छ ।